बारा । वीरगञ्जमा सञ्चालित दशैं मेलामा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पर्साको विश्रामपुर गाउँपालिका–४, बलिरामपुर निवासी करिब ४५ वर्षीय पत्रकार अखिलेश कुमार साह रिहा भएका छन्।
वडा प्रहरी कार्यालय बिर्तामा सोमबार पीडित पक्षसँग भएको आपसी सहमतिपछि साहलाई रिहा गरिएको हो। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीले आपसी सहमतिका आधारमा साह रिहा भएको जानकारी दिएका छन्।
आइतबार राति दशैं मेला हेर्न पुगेका साहमाथि मादक पदार्थ सेवन गरेको अवस्थामा युवतीहरूसँग दुर्व्यवहार गरेको आरोप लागेको थियो। घटनापछि घण्टाघरस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाएको थियो।
तर, साहले भने महिला कर्मचारीमाथि दुर्व्यवहार नभएको दाबी गरेका छन्। वीरगञ्ज महानगरपालिकाकी एक महिला सफाइकर्मीसँग सामान्य भनाभन मात्र भएको बताउँदै उनले केही व्यक्तिले आफ्नो मानमर्दन गर्ने उद्देश्यले घटनालाई मिडियाबाजी गरेको आरोप लगाएका छन्।
घटनाबारे प्रारम्भमा दुर्व्यवहारको आरोप सार्वजनिक भए पनि साहले त्यसलाई अस्वीकार गर्दै सामान्य भनाभन भएको दाबी गरेका छन्।