वीरगञ्ज । समाचार सम्प्रेषण गरेको विषयलाई लिएर पत्रकार भरत सरार्फलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति प्रेस सेन्टर नेपाल, जिल्ला कार्य समिति पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस सेन्टर पर्साका सचिव अजित कुमार भुजेलले विज्ञप्ति जारी गर्दै न्युज खोज तलाश डटकमका सञ्चालकसमेत रहेका पत्रकार सरार्फलाई निरन्जन अग्रवालले ज्यान मार्ने धम्की दिएको घटनाको भर्त्सना गरेका छन्।
प्रेस सेन्टरले समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्ने तथा प्रेस काउन्सिल नेपालमा उजुरी दिने बाटो हुँदाहुँदै फोन गरेर ज्यान मार्ने धम्की दिनु दुःखद्, खेदजनक र भर्त्सनायोग्य भएको जनाएको छ।
प्रेस सेन्टर नेपाल मधेश प्रदेशका सदस्य तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषद्का सदस्यसमेत रहेका सरार्फलाई धम्की दिने व्यक्तिमाथि कानुनी कारबाही गर्न समितिले जोडदार माग गरेको छ।
विज्ञप्तिमा सञ्चारकर्मीलाई निर्भयतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न तथा उनीहरूको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न राज्यका सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।
प्रेस सेन्टर पर्साले पत्रकारमाथि हुने धम्की र दबाबका घटनालाई गम्भीर रूपमा लिनुपर्ने भन्दै पत्रकारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।