पर्सा । त्रिभुवन राजपथअन्तर्गत पर्साको वीरगञ्जस्थित मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक विस्तार प्रक्रिया अघि बढेको छ। करिब ८ किलोमिटर सडकको सीमा क्षेत्र खाली गराउने काम सम्पन्न भएसँगै पूर्वाधार विकास मन्त्रालयले निर्माण कार्यका लागि दुई प्याकेजमा बोलपत्र आह्वान गरेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सडक विस्तारका लागि गत असोज ३० गते दुईवटा प्याकेजमा बोलपत्र आह्वान गरिएको हो। पहिलो प्याकेजमा मितेरी पुलदेखि घण्टाघरसम्म र दोस्रो प्याकेजमा घण्टाघरदेखि गण्डक चोकसम्मको सडक विस्तार गरिनेछ।
मन्त्रालयको योजनाअनुसार वीरगञ्जको मुख्य बजार क्षेत्र मानिने इदगाह चोकदेखि पावर हाउससम्म सडकको बीच भागमा चार लेनको सडक निर्माण गरिनेछ। यस क्षेत्रमा दुवैतर्फ साइकल लेन र फराकिलो फुटपाथ रहनेछ। बजार क्षेत्रभन्दा बाहिर भने सर्भिस लेनसहितको ६ लेनको सडक निर्माण गरिनेछ।
सडकका दुवै किनारमा काठमाडौंको दरबारमार्गमा जस्तै ग्रेनाइट ढुङ्गा बिछ्याएर आकर्षक फुटपाथ निर्माण गर्ने योजना रहेको मन्त्री लम्सालले जानकारी दिए।
यसअघि सडकको सीमा क्षेत्र खाली गराउने काम दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणमा २०८३ वैशाख ६ र ७ गते तथा दोस्रो चरणमा असार १८ देखि भदौ ३१ गतेसम्म सडकको सीमा क्षेत्र खाली गराइएको थियो।
मन्त्री लम्सालले सडक विस्तारका क्रममा विद्युत्, खानेपानी र इन्टरनेट सेवा पटक–पटक अवरुद्ध हुँदा वीरगञ्जवासीले भोग्नुपरेको सास्ती र दैनिक जीवनमा परेको कठिनाइप्रति दुःख व्यक्त गरेका छन्। साथै, उनले यस असहज परिस्थितिमा स्थानीयवासीले देखाएको धैर्यता, संयमता र सहयोगका लागि आभार प्रकट गरेका छन्।
मन्त्रालयले निर्माण कार्य सुरु भएको ३० महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।