काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित अडियो प्रकरणको निष्पक्ष छानबिनका लागि जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सक्कल अडियो तथा लिखित विवरण रास्वपालाई उपलब्ध गराएका छन्।
रास्वपाको छानबिन टोलीले सहयोग मागेपछि सम्पादक श्रेष्ठले सांसद सुनारसँग सम्बन्धित बीप वा म्युट नगरिएका सक्कल अडियो र उपलब्ध लिखित विवरण पेनड्राइभमा राखेर शुक्रबार अनुसन्धानका लागि उपलब्ध गराएका हुन्।
श्रेष्ठले घटनाको अनुसन्धान कुनै पनि दबाब र प्रभावमा नपरी अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले सत्यतथ्य समेटिएको प्रतिवेदन सार्वजनिक हुनुपर्ने र अनुसन्धानका क्रममा प्राप्त विवरण बिचमै नहराउनुपर्ने बताएका छन्।
केही दिनअघि एक महिलासँग सांसद सुनारको भनिएको आपत्तिजनक अडियो सार्वजनिक भएको थियो। उक्त अडियो सार्वजनिक भएपछि घटनाबारे विभिन्न प्रश्न उठेका छन्। यस विषयमा रास्वपाले आन्तरिक अनुसन्धान गरिरहेको छ।