सप्तरी । दसैँको रौनकले गाउँबस्ती ढाकिरहेका बेला सप्तरीको डाक्नेश्वरी नगरपालिका–८, कट्टी परवाहा टोलमा भने एउटा परिवार शोकमा डुबेको छ । पाँच वर्षीय बालक सुमित मण्डलको सर्पदंशबाट मृत्यु भएपछि परिवारका सदस्यसँगै सिंगो बस्ती शोकमा परेको छ । सर्पले डसेपछि तत्काल अस्पताल पुर्याउनुपर्ने बालकलाई सुरुमा धामीझाँक्रीको भरमा झारफुक गराउँदा उपचारमा ढिलाइ भएको थियो ।
बुधबार दिउँसो घरको आँगनमा खेलिरहेका बेला सुमितलाई विषालु सर्पले डसेको थियो । सर्पले डसेपछि आत्तिएका उनी दौडेर हजुरआमा फूलकुमारीको काखमा पुगेका थिए । केही बेरमै उनी अचेत भए । तर, तत्काल अस्पताल पुर्याएर उपचार सुरु गर्नुको सट्टा परिवारले गाउँकै धामीझाँक्री बोलाएर झारफुक गराउन थालेको थियो ।
झन्डै आधा घण्टासम्म झारफुक र विभिन्न विधि अपनाउँदा पनि सुमितको अवस्थामा सुधार नआएपछि मात्र उनलाई कल्याणपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो ।
त्यहाँ भेन्टिलेटरको सुविधा नभएको र बालकको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्यकर्मीले सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि परिवारले उनलाई राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्याएको थियो । त्यहाँबाट पनि अन्यत्र लैजान सल्लाह दिइएपछि सुमितलाई गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । तर, अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सुमितका बुवा ओमप्रकाश मण्डल र आमा रेणुदेवीका लागि यो पीडा शब्दमा व्यक्त गर्न कठिन छ । समयमै उपचार सुरु गर्न सकेको भए छोराको ज्यान जोगिन सक्थ्यो कि भन्ने प्रश्नले परिवारलाई सताइरहेको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार बालकलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको थियो । विष शरीरभरि फैलिएको अवस्थामा उपचार कठिन हुने उल्लेख गर्दै उहाँले सर्पदंशको घटनामा झारफुकमा समय बिताउनुको सट्टा तत्काल अस्पताल पुग्नुपर्ने बताउनुभयो ।
मृत्युपछि पनि झारफुकमा विश्वास
घटनाको अर्को दुःखद पक्ष चिकित्सकले बालकलाई मृत घोषणा गरिसकेपछि पनि परिवारका सदस्यले धामीझाँक्रीप्रतिको विश्वास नत्याग्नु हो ।
अस्पतालमा चिकित्सकले मृत्यु भएको पुष्टि गरिसकेपछि पनि आफन्तले बालकको शव अस्पतालको मुख्य प्रवेशद्वारनजिकै राखेर गाउँबाट धामीझाँक्री बोलाएका थिए । त्यहाँ पुनः झारफुक सुरु गरियो । तर, बालकको शरीरमा कुनै हलचल देखिएन ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले अभिभावकलाई सम्झाउँदै अन्धविश्वासमा नपर्न आग्रह गरेपछि उनीहरूले शव लिएर अस्पताल परिसर छाडेका थिए । तर, उनीहरूको विश्वास त्यतिमै रोकिएन । शव लिएर उनीहरू सीमावर्ती भारतीय बजार महादेवमण्ठस्थित एक धामीको घर पुगे । त्यहाँ पनि विभिन्न विधिबाट झारफुक गर्दा बालक जीवित नभएपछि निराश हुँदै आफन्त फर्किएका थिए ।
प्रहरीले घटनाबारे चासो देखाएपछि आफन्तले बिहीबार गजेन्द्रनारायण सिंह अस्पतालमा शव पोस्टमार्टमका लागि बुझाएको अस्पताल प्रशासनले जनाएको छ ।
अन्धविश्वास कि उपचारसम्बन्धी चेतनाको अभाव?
सुमितको मृत्यु एउटा परिवारको निजी पीडा मात्र होइन, समाजमा अझै जरा गाडेर बसेको अन्धविश्वास र स्वास्थ्यसम्बन्धी चेतनाको अभावको दुःखद उदाहरण पनि हो ।
सर्पले डसेपछि तत्काल अस्पताल जानुपर्ने सामान्य जानकारीसमेत व्यवहारमा लागू हुन नसक्दा बालबालिकाको जीवन जोखिममा पर्ने गरेको छ ।
धामीझाँक्रीप्रतिको परम्परागत विश्वास, डर र उपचारसम्बन्धी जानकारीको अभावका कारण बिरामीलाई तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्थामा ढिलाइ हुने गरेको डा. झाले बताउनुभयो । “सुमितलाई सुरुमै अस्पताल पुर्याइएको भए ज्यान जोगिन सक्थ्यो होला,” मेडिकल सुपरिटेन्डेन्ट डा. झाले भन्नुभयो ।