धनुषा । मधेस प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनकपुरधाम, धनुषाले आ.व. २०८३/०८४ को असार मसान्तसम्मका लागि करार सेवामा कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले शुक्रबार प्रथम पटक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकहरूबाट १५ दिनभित्र दरखास्त पेस गर्न आह्वान गरेको हो।
स्थायी कर्मचारी पदपूर्ति भएको अवस्थामा स्वतः खारेज हुने गरी यी पदहरूमा पदपूर्ति गर्न लागिएको मन्त्रालयले जनाएको छ।
विभिन्न पदअनुसार परीक्षाको किसिम अन्तर्वार्ता तथा सीप परीक्षण वा लिखित तथा अन्तर्वार्तामार्फत हुने मन्त्रालयले जनाएको छ। उम्मेदवारको उमेरको हद प्रदेश निजामती सेवा ऐन, २०७७ (मधेस प्रदेश) मा उल्लेख भएबमोजिम हुनेछ भने शैक्षिक योग्यता प्रदेश लोकसेवा आयोग (मधेस प्रदेश) मा उल्लेख भएअनुसार हुनुपर्नेछ।
यस पदपूर्तिका लागि कुनै पनि दरखास्त दस्तुर लाग्ने छैन अर्थात् दरखास्त नि:शुल्क रहेको छ। उम्मेदवारहरूले एस.एल.सी. देखि न्यूनतम शैक्षिक योग्यता, तालिम, अनुभव, सम्बन्धित काउन्सिलको दर्ता/नवीकरण प्रमाणपत्र, समकक्षता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्र आफैँले प्रमाणित गरी पेस गर्नुपर्नेछ। इच्छुक उम्मेदवारले २०८३ कात्तिक १३ गतेभित्र मन्त्रालयको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी मन्त्रालयको प्रशासन शाखामा तोकिएको फाराम भरी बुझाउन सक्नेछन्।
