रौतहट । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अनलाइनमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गरी समाजमा डर र त्रास फैलाएको आरोपमा रौतहट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ निवासी २२ वर्षीय श्यामकुमार महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई असोज २८ गते राति करिब ९ बजे गौर नगरपालिका–४ बाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार महतोले टिकटकमा धारिलो हतियारसहितका तस्बिर तथा भिडियो सार्वजनिक गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत गर्ने गरेका थिए। उनले सामाजिक सञ्जालमा विभिन्न आपत्तिजनक अभिव्यक्तिसमेत सार्वजनिक गर्ने गरेको प्रहरीको भनाइ छ। यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्नुका साथै शान्ति सुरक्षामा चुनौती उत्पन्न गर्न सक्ने आकलनपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएका सामग्रीको निगरानी तथा अनुसन्धान गर्ने क्रममा महतोको पहिचान खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा गरिएको जाँचका क्रममा महतोको नाममा विभिन्न मितिमा चोरी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगलगायतका पाँचवटा मुद्दा दर्ता भएको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिएका छन्।
सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने तथा समाजमा डर र त्रास फैलाउने प्रकृतिका सामग्री सार्वजनिक गर्ने गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।