जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार सङ्कटमा परेको छ। नेकपा (एमाले) ले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो।
एमालेका मन्त्रीहरूले संसदीय दलका नेता सरोजकुमार यादवको हस्ताक्षर रहेको समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई बुझाएका छन्। खेलकुद तथा समाज कल्याणमन्त्री लखनदास तत्माको नेतृत्वमा मन्त्रीहरू प्रदेश प्रमुखको कार्यालय पुगेर औपचारिक रूपमा समर्थन फिर्ताको जानकारी गराएका हुन्।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच भएको १५ बुँदे समझदारी कार्यान्वयन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपरेको मन्त्री तत्माले बताउनुभयो। एमालेले सरकार गठनका बेला सुशासन, विकास निर्माण र जनहितका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने अपेक्षासहित समर्थन दिएको उहाँको भनाइ छ।
तीन दलबीच भएको समझदारी कार्यान्वयन गर्न मुख्यमन्त्री यादवलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि त्यसतर्फ आवश्यक पहल नभएको मन्त्री तत्माले बताउनुभयो। समझदारीअनुसार सरकार सञ्चालन नभएपछि एमाले सरकारबाट बाहिरिने निर्णयमा पुगेको उहाँले स्पष्ट पार्नुभयो।
समर्थन फिर्ता लिनुअघि एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्री यादवसमक्ष राजीनामा दिएका थिए। राजीनामा दिनेमा पूर्वाधार विकासमन्त्री मोहम्मद समीर, खेलकुद तथा समाज कल्याणमन्त्री लखनदास तत्मा, श्रम तथा यातायातमन्त्री शारदादेवी थापा र शिक्षा तथा संस्कृतिमन्त्री मनोज सिंह हुनुहुन्छ।
एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकारको राजनीतिक भविष्य अनिश्चित बनेको छ। अब मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत प्राप्त गर्न नसके सरकारको निरन्तरतामा थप सङ्कट उत्पन्न हुने देखिएको छ।