वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी गाडी प्रयोग गरेर वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्। उनीसँगै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल पनि क्यासिनोबाटै पक्राउ परेका हुन्।
गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले अध्यक्ष यादव र इन्स्पेक्टर पौडेल दुवैलाई नियन्त्रणमा लिएको हो। प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको सरकारी गाडी (ना.१ झ १६८७ नम्बरको स्कोर्पियो) समेत नियन्त्रणमा लिएको छ।
सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि र बहालवाला प्रहरी अधिकृत क्यासिनो परिसरमा सरकारी सवारीसाधनसहित भेटिएपछि प्रहरीले उनीहरूलाई गाडीसमेत नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय श्रीपुर पुर्याएको छ।
उनीहरूलाई नियन्त्रणमा लिएपछि सरकारी सवारीसाधनको दुरुपयोग, क्यासिनोमा उनीहरूको उपस्थितिको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
जनताको सेवाका लागि प्रयोग हुनुपर्ने सरकारी गाडी र गैरकानुनी गतिविधि नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका प्रहरी अधिकृत नै क्यासिनोमा भेटिएपछि गाउँपालिका अध्यक्ष यादव र इन्स्पेक्टर पौडेलको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। घटनाबारे प्रहरीले अनुसन्धान पूरा गरेपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।