वीरगञ्ज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्ष पदमा उपनेश कुमार चौरसिया पुनः नियुक्त भएका छन्। जिल्ला कार्यसमितिलाई पूर्णता दिने क्रममा चौरसियालाई दोस्रो कार्यकालका लागि उपाध्यक्ष पदमा नियुक्त गरिएको हो।
नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मीकि यादवद्वारा जारी नियुक्तिपत्रमार्फत चौरसियालाई उपाध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। नियुक्तिपत्रमा संगठनलाई थप व्यवस्थित, सशक्त र प्रभावकारी बनाउन चौरसियालाई उक्त जिम्मेवारी दिइएको उल्लेख छ।
यसअघि पनि उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका चौरसिया दोस्रो कार्यकालका लागि पुनः चयन भएपछि संगठनभित्र उत्साह थपिएको बताइएको छ।
पुनर्नियुक्तिपछि प्रतिक्रिया दिँदै उपाध्यक्ष उपनेश कुमार चौरसियाले संगठनप्रति विश्वास व्यक्त गर्दै आफूलाई पुनः जिम्मेवारी प्रदान गरेकोमा नेतृत्वप्रति आभार व्यक्त गरे।
उनले भने, “नेपाल तरुण दल पर्साको उपाध्यक्ष पदमा दोस्रो पटक जिम्मेवारी पाउनु मेरा लागि गौरवको विषय हो। संगठनले ममाथि गरेको विश्वासलाई कायम राख्दै युवाको हकहित, संगठनको सुदृढीकरण तथा पार्टीको नीति र कार्यक्रम कार्यान्वयनमा अझ सक्रिय भएर लाग्नेछु। सबै साथीहरूको साथ, सहयोग र सुझावका साथ संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
चौरसियाले संगठनको विधान, नीति तथा निर्देशनअनुसार अनुशासित र जिम्मेवार ढंगले आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
नेपाल तरुण दल पर्साले पछिल्लो समय संगठन विस्तार, युवाको सहभागिता वृद्धि तथा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउन विभिन्न तहमा संगठनलाई पूर्णता दिने कार्यलाई तीव्रता दिएको छ।