धादिङ । जेन जि पर्सा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधिर पटेलको संयुक्त पहलमा धादिङका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ।
गजुरी गाउँपालिका वडा नं. ५ र ६ स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका करिब २०० बाढीपीडित परिवारलाई आइतबार उक्त खाद्यान्न तथा अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो।
राहत सामग्री लिएर जेन जि पर्सा र युवा नेता सुधिर पटेलको टोली वीरगञ्जबाट धादिङ पुगेको थियो। हस्तान्तरण गरिएका सामग्रीहरूमा चामल, दाल, आलु, प्याज, नुन, खाने तेल, साबुन, सोयाबिन, चिउरा, दालमोट तथा लत्ताकपडा रहेका छन्।
उक्त वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष गोविन्द लामिछाने र वडा नं. ६ का अध्यक्ष भक्तबहादुर तामाङको उपस्थिति थियो। साथै जेन जि पर्साका संयोजक महादेव प्रसाद कुर्मी, प्रमुख सल्लाहकार वीरेन्द्र कण्ठ, युवा अभियन्ता तथा समाजसेवी सुशिल पटेल, चन्दन महतो र रक्की खान लगायतको सहभागिता रहेको थियो।
कठिन परिस्थितिमा धादिङका प्रभावित क्षेत्रमै पुगेर प्रत्यक्ष रूपमा राहत उपलब्ध गराएको भन्दै स्थानीयवासी तथा सरोकारवालाहरूले टोलीको प्रशंसा गरेका छन्। जेन जि पर्साले आगामी दिनहरूमा पनि प्राकृतिक विपद् तथा मानवीय संकटमा परेका नागरिकहरूको सहयोगमा निरन्तर खटिने प्रतिबद्धता जनाएको छ।