वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले देशका विभिन्न भागमा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार सहयोग प्रदान गरेको छ।
क्याम्पसस्थित स्ववियु कार्यालयमा आयोजित विशेष कार्यक्रममा स्ववियु सभापति राजकुमार यादवको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले क्याम्पस प्रमुख डा. केशवप्रसाद यादवमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो। कार्यक्रममा सहायक क्याम्पस प्रमुख, क्याम्पस प्रशासनका प्रतिनिधि तथा स्ववियु पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियु सभापति यादवले प्राकृतिक विपद्को कठिन समयमा विद्यार्थी समुदायले आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरू केवल शैक्षिक गतिविधिमा मात्र सीमित नरही मानवीय सेवामा समेत अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउँदै स्ववियुको तर्फबाट संकलन गरिएको सहयोग रकमले विपद् पीडित नागरिकहरूलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
चेक ग्रहण गर्दै क्याम्पस प्रमुख डा. यादवले स्ववियुले देखाएको मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वको उच्च प्रशंसा गर्नुभयो। उहाँले विद्यार्थी संगठनहरूले समाजप्रति देखाएको सहयोग र सहकार्यको भावना अनुकरणीय रहेको उल्लेख गर्दै उक्त रकम यथाशीघ्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चेक हस्तान्तरण कार्यक्रममा स्ववियुका पदाधिकारी तथा सदस्यहरू, क्याम्पस प्रशासनका प्रतिनिधिहरू, विद्यार्थीहरू र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।