वीरगञ्ज । क्यासिनो प्रकरणमा पक्राउ परी धरौटीमा रिहा भएका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले सामाजिक सञ्जालमार्फत ‘देश र जनतासँग क्षमाप्रार्थी छु’ भन्दै सार्वजनिक रूपमा माफी मागेका छन्।
अध्यक्ष यादवले फेसबुकमा आफूबाट भएका कमी–कमजोरी, त्रुटि वा निर्णयका कारण कसैको मन दुखेको भए हृदयदेखि नै क्षमा चाहेको उल्लेख गरेका छन्। उनले जनताको विश्वास, भावना र अपेक्षाप्रति आफू सधैँ सम्मानित र जवाफदेही रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
यादवले आफ्ना गल्तीबाट सिक्दै कमजोरी सुधार्ने र आगामी दिनमा अझ जिम्मेवार भएर देश, समाज तथा जनताको हितमा निरन्तर समर्पित रहने बताएका छन्। उनले कठिन अवस्थामा साथ र सहयोग गर्ने इष्टमित्र तथा शुभेच्छुकप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
तर, अध्यक्ष यादवले कुन गल्ती, कमजोरी वा निर्णयका लागि क्षमायाचना गरेका हुन् भन्ने कुरा भने उनको सार्वजनिक अभिव्यक्तिमा स्पष्ट खुलाएका छैनन्। यही कारण उनको ‘क्षमाप्रार्थी’ अभिव्यक्तिले थप प्रश्न जन्माएको छ।
क्यासिनो प्रकरणमा पक्राउ पर्नु, क्यासिनो परिसरबाट सखुवा प्रसौनी गाउँपालिकाको नाममा रहेको सरकारी सवारीसाधन नियन्त्रणमा पर्नु र त्यसपछि अध्यक्ष यादवले सार्वजनिक रूपमा क्षमा माग्नुले घटनालाई थप चासोको विषय बनाएको छ।
सार्वजनिक पदमा रहेका जनप्रतिनिधिले व्यक्तिगत आचरणसँगै सरकारी स्रोत–साधनको प्रयोग र सार्वजनिक विश्वासप्रति समेत जवाफदेही हुनुपर्ने हुन्छ। त्यसैले अध्यक्ष यादवको अभिव्यक्तिले घटनासँग जोडिएका मूल प्रश्नको जवाफ दिएको छ वा छैन भन्ने विषयमा स्थानीयस्तरमा चर्चा सुरु भएको छ।
धरौटीमा रिहा हुँदैमा घटनाबाट पूर्ण रूपमा उन्मुक्ति पाएको अर्थ नलाग्ने भएकाले यस प्रकरणसँग सम्बन्धित कानुनी प्रक्रिया र अनुसन्धान भने अघि बढ्नेछ। अनुसन्धानबाट घटनाको वास्तविकता थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
अध्यक्ष यादवले आफ्नो फेसबुक अभिव्यक्तिको अन्त्यमा ‘देश र जनता सर्वोपरि’ भन्दै लेखेका छन्। तर, अब स्थानीयवासीको मुख्य प्रश्न भने एउटै छ—जनताको प्रतिनिधिका रूपमा सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा पुग्नुको कारण के थियो र उनले क्षमायाचना गरेको ‘कमी–कमजोरी’ आखिर के हो?
यस घटनाले जनप्रतिनिधिको आचरण, सरकारी स्रोत–साधनको प्रयोग, सार्वजनिक जवाफदेहिता र जनताको विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ।