वीरगञ्ज । पछिल्लो समय पर्सा प्रहरीले अनुसन्धान गरेका तीन छुट्टाछुट्टै घटनाले प्रहरीको अनुसन्धान प्रक्रिया, अभियोजनका लागि संकलित प्रमाण तथा पक्राउ परेका व्यक्तिको अदालतमा उपस्थित गराउने प्रक्रियामाथि प्रश्न उठाएको छ।
हवाई इन्धन चोरी प्रकरण, हवाई इन्धन ढुवानीको इजाजतपत्र दिलाउने नाममा रकम असुलीसम्बन्धी प्रकरण तथा ठगी र आपराधिक विश्वासघातको आरोपमा सञ्जय ठाकुर पक्राउ परेको घटनालाई लिएर पीडित तथा आरोपित पक्षले पर्सा प्रहरीको भूमिकामाथि प्रश्न उठाएका हुन्।
यी घटनामा प्रहरी नायब उपरीक्षक तथा मुद्दा शाखाको जिम्मेवारीमा रहेका चक्रबहादुर मल्लको भूमिकालाई लिएर समेत प्रश्न उठाइएको छ। केही पक्षले मल्लमाथि प्रभावशाली व्यक्ति तथा बिचौलियाको प्रभावमा अनुसन्धान प्रभावित पार्ने गरेको आरोप लगाएका छन्। प्रहरीले भने आरोप अस्वीकार गर्दै अनुसन्धान कानुनअनुसार नै भइरहेको दाबी गरेको छ।
हवाई इन्धन चोरी : पक्राउ परेका मुख्य आरोपित अदालतमा नपुगेको दाबी
गत साउन २१ गते काठमाडौंस्थित हवाई इन्धन डिपोमा पुग्नुपर्ने ना.७ ख १५३९ नम्बरको ट्यांकरमा रहेको हवाई इन्धन पर्साको सौदागर पेट्रोलपम्पमा चोरी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीले घटनास्थलबाट पम्प सञ्चालक सुनैन मियाँसहित सात जनालाई पक्राउ गरी चोरी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।
तर अनुसन्धानकै क्रममा सुनैन मियाँलाई भदौ ७ गते जिम्मा जमानीमा छाडिएको विषयले नयाँ प्रश्न जन्माएको छ। पर्सा प्रहरी प्रमुख पवनकुमार भट्टराईका अनुसार पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीले भदौ २ गते पाँच दिनभित्र अनुसन्धान पूरा गरी अदालतमा पेस गर्न वा अनुसन्धान नसकिए हाजिर जमानीमा औषधोपचारका लागि छाड्न आदेश दिएका थिए।
यता, जिल्ला सरकारी वकिल कार्यालय पर्साका प्रमुख मनोजकुमार गुप्ताले अभियोगपत्र अदालतमा पेस गर्दा सुनैन मियाँलाई उपस्थित नगराइएको विषयमा प्रश्न उठाएका छन्। अदालतमा अभियोगपत्र पेस हुँदा मियाँलाई अनुपस्थित देखाइएको र उनलाई जिम्मा लिने व्यक्तिलाई समेत अदालतमा उपस्थित नगराइएको उनको भनाइ छ।
अदालतले समेत सुनैन मियाँको हकमा तत्काल कुनै आदेश नभएको जनाएको छ। यसले पक्राउपछि अभियोजनसम्मको प्रक्रियाबारे थप कानुनी प्रश्न खडा गरेको छ।
इजाजतपत्रको नाममा रकम असुली : प्रमाणभन्दा ‘पोलेको’ बयानमा भर?
अर्को प्रकरण हवाई इन्धन ढुवानीका लागि आवश्यक इजाजतपत्र दिलाउने नाममा ट्यांकरधनीबाट रकम असुली गरेको आरोपसँग सम्बन्धित छ।
पर्सा प्रहरीले नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दाससहित आठ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ। प्रहरीले ठूलो रकम असुली भएको दाबी गरे पनि दासको बैंक खातामा रकम जम्मा भएको प्रमाण अभियोगपत्रमा नदेखिएको दास पक्षको दाबी छ।
अभियोगपत्रमा हरबिन्दर सिंहले दासका मानिसलाई एक लाख रुपैयाँ दिएको भनी गरेको बयानलाई समेत प्रमाणका रूपमा उल्लेख गरिएको बताइएको छ।
दासले आफूलाई प्रत्यक्ष प्रमाणबिना प्रतिवादी बनाइएको आरोप लगाउँदै आफ्नो तीन पुस्तादेखिको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने प्रयास भएको बताएका छन्। उनले अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
प्रहरी प्रमुख भट्टराई भने दासलाई केवल कसैले पोलेको आधारमा मात्रै प्रतिवादी नबनाइएको दाबी गर्छन्। उनका अनुसार अनुसन्धानका क्रममा प्राप्त अन्य तथ्य र प्रमाणका आधारमा मुद्दा अघि बढाइएको हो।
तर, दासको नाम लिएका हरबिन्दर सिंहलाई भने सोही घटनामा प्रतिवादी नबनाइएको विषयले अनुसन्धानको आधार र प्रमाणको समान प्रयोगबारे प्रश्न उठाएको छ।
सञ्जय ठाकुर पक्राउ : पुरानो मुद्दा कि नयाँ जाहेरी?
तेस्रो प्रकरणमा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा सञ्जय ठाकुरलाई भदौ २४ गते काठमाडौंस्थित शान्तिनगर गेटबाट पक्राउ गरी पर्सा ल्याइएको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका अनुसार विवादित स्काइलाइन मलका सञ्चालक राजेश अग्रवाललगायतका सञ्चालकलाई धाकधम्की दिई रकम असुली गरेको आरोपमा ठाकुरविरुद्ध जाहेरी परेको हो।
तर ठाकुरका छोरा पुष्कर ठाकुरले भने घटना नै बनावटी रहेको दाबी गरेका छन्। उनका अनुसार राजेश अग्रवालले आफ्ना बुबाविरुद्ध जाहेरी नदिएको, लेनदेन भएको प्रमाण नरहेको तथा धाकधम्की वा रकम असुली गरेको प्रमाणसमेत नभएको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरी प्रमुख भट्टराईले भने सञ्जय ठाकुर यसअघि नै फौजदारी मुद्दामा फरार रहेको र सोही आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताएका छन्। नयाँ आरोपसम्बन्धी प्रश्नमा उनले यो पुरानो मुद्दा भएकाले सम्बन्धित फाइल हेरेपछि मात्रै विस्तृत जानकारी दिन सकिने बताएका छन्।
‘दोषीलाई संरक्षण, निर्दोषलाई दुःख’ आरोप
यी तीनवटै घटनालाई जोडेर केही पीडित तथा आरोपित पक्षले पर्सा प्रहरीमाथि अनुसन्धानमा पक्षपात गरेको आरोप लगाएका छन्। उनीहरूले प्रहरी प्रशासनले प्रभावशाली तथा बिचौलियाको प्रभावमा परेर वास्तविक दोषीलाई उन्मुक्ति दिने र निर्दोष व्यक्तिलाई मुद्दामा तान्ने गरेको दाबी गरेका छन्।
विशेषगरी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको भूमिकालाई लिएर प्रश्न उठाइएको छ। मल्लले विगतमा वीरगञ्जको वडा प्रहरी कार्यालय श्रीपुरमा इन्चार्जका रूपमा काम गरेको र सोही समयका सम्पर्क तथा सम्बन्धले अहिलेको अनुसन्धान प्रभावित पारेको आरोप लगाइएको छ।
प्रहरीको जवाफ : ‘कानुनअनुसार नै अनुसन्धान भइरहेको छ’
पर्सा प्रहरी प्रमुख पवनकुमार भट्टराईले प्रहरीमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्। उनले प्रहरी संगठनले प्रमाण र कानुनी प्रक्रियालाई आधार बनाएर अनुसन्धान तथा अभियोजन अघि बढाइरहेको बताएका छन्।
दोषीलाई संरक्षण र निर्दोषलाई बनावटी मुद्दामा फसाउने गरेको आरोप गलत भएको उनको दाबी छ। अनुसन्धान र अभियोजनसँग सम्बन्धित विषय अदालतमा विचाराधीन रहेकाले अन्तिम सत्य भने न्यायिक प्रक्रियाबाटै टुंगो लाग्ने देखिन्छ।
पर्सा प्रहरीका पछिल्ला यी घटनाले भने पक्राउदेखि अनुसन्धान, प्रमाण संकलन, अभियोजन र अदालतमा आरोपितको उपस्थितिसम्मको प्रक्रियालाई पारदर्शी र कानुनी मापदण्डअनुकूल बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।