काठमाडौं । नेकपा (एमाले) की सांसद पद्मा अर्यालले विपद् व्यवस्थापनका क्रममा सरकारबाट समन्वय र तयारीमा कमजोरी भएको टिप्पणी गर्दै सबै पक्षलाई साथ लिएर अघि बढ्न सरकारलाई आग्रह गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले बाढीपछिको उद्धार, राहत तथा व्यवस्थापनका केही महत्वपूर्ण काममा सरकार चुकेको आरोप लगाइन्। उनका अनुसार सरकारले प्रारम्भिक चरणमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सार्वजनिक आह्वान र कूटनीतिक पहल गर्नुपर्ने थियो।
उनले देशभर रहेका इन्जिनियर, प्राविधिक जनशक्ति तथा विभिन्न क्षेत्रका विज्ञलाई तत्काल परिचालन गर्न नसक्नु पनि सरकारको कमजोरी भएको उल्लेख गरिन्।
अर्यालले विपद्को समयमा दलगत राजनीति भन्दा माथि उठेर सर्वदलीय सहकार्य आवश्यक हुने बताउँदै सरकारले सबै राजनीतिक दललाई समेटेर तत्काल बैठक बोलाउनुपर्ने धारणा राखिन्। तर, त्यस्तो पहल हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले विपत्तिको घडीमा सरकार ‘म एक्लै पर्याप्त छु’ भन्ने मानसिकताबाट बाहिर आउनुपर्ने बताइन्। देश र नागरिकप्रतिको माया कुनै एक दल वा सरकारको मात्र नभई सबै राजनीतिक शक्तिको समान दायित्व रहेको उनको भनाइ थियो।
‘सरकारले केही काम गरेको छ, त्यसलाई नकार्न खोजिएको होइन,’ उनले भनिन्, ‘तर अझ प्रभावकारी ढंगले धेरै काम गर्न सकिन्थ्यो। विपद्बाट सिकेर आगामी दिनमा सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ।’