वीरगन्ज । जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित भएका छन्। वीरगन्जमा सम्पन्न दोस्रो महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा राउत ९ सय ५८ मतसहित अध्यक्षमा निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका अध्यक्ष सन्जयकुमार सिंहले जानकारी दिए।
उनका अनुसार, निर्वाचनमा २६ पदाधिकारीसहित ९९ पदका लागि मतदान भएको थियो। अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेको भएपनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले अध्यक्ष पदमाा पनि मतदान भएको थियो।
यसैगरी उपाध्यक्षमा सिरहाकी अनिताकुमारी मण्डल ६०८ मतका साथ, धनुषाकी अनितादेवी साह ६०६ मतका साथ, कपिलवस्तुका नरेन्द्र चौधरी ६०३ मतका साथ, रौतहटका बसन्त कुमार कुशवाहा ५८५ मतका साथ, सप्तरीका डा. जयकान्त राउत ५७३ मतका साथ , सिरहाका राजयकुमार यादव ५५६ मतका साथ र पर्साका माधव प्रसाद सिंह ३९६ मतका साथ विजयी भएका छन्। उपाध्यक्ष पदमा ११ जना प्रतिस्पर्धामा थिए।
महासचिव पदमा सञ्जयकुमार यादव (सिरहा) निर्वाचित भएका छन् । यादव ६१८ मत सहित विजयी भएका हुन्। महासचिवका लागि ममता झा र चन्दनकुमार सिंहले पनि उम्मेदवारी दिएका थिए। झाले दुई सय २० र सिंहले एक सय ६५ मत पाए। उनीहरुले २० प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ।
उपमहासचिव पदमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी रौतहटका ललितचन्द्र मल्लिक ४१४ मत पाउँदै पराजित भए। सचिव पदमा बाराका पारसप्रसाद साहसहित, सुरेन्द्र शर्मा, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्। सात जना सचिवका लागि ९ जना चुनावी मैदानमा थिए। बाराका रामबाबु साह र महोत्तीका वीरेन्द्र महतो पराजित भएका छन्।