पर्सा । पर्साको पकाहाँ मैनपुर गाउँपालिकामा ६० लाखभन्दा बढी मूल्यका आधुनिक स्वास्थ्य उपकरणहरू भएर पनि बजेट अभावका कारण सञ्चालनमा आउन सकेका छैनन्। २४ लाख रुपैयाँका दरले खरिद गरिएका दुई वटा अल्ट्रासाउन्ड (भिडियो एक्स-रे) मेसिन (कुल ४८ लाख) र १५ लाख रुपैयाँ बराबरको एउटा एक्स-रे मेसिन गरी कुल ६३ लाख मूल्यका उपकरणहरू सञ्चालन बजेट नहुँदा थन्किएका हुन्।
आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा स्वास्थ्य विभागमार्फत प्राप्त भएका यी उपकरणहरू सञ्चालनका लागि गाउँपालिकाबाट बजेट विनियोजन नभएपछि सेवा ठप्प बनेको छ। यसअघि स्वास्थ्य शाखा प्रमुखको व्यक्तिगत पहलमा बाहिरबाट दक्ष प्राविधिक बोलाई पालैपालो प्रत्येक वडामा पुगेर घुम्ती सेवा सञ्चालन गरिएको थियो। करिब दुई महिनासम्म सञ्चालनमा आएको उक्त सेवाबाट सयौँ स्थानीयले लाभ लिएका थिए। तर, पछि गाउँपालिकाले प्राविधिकको पारिश्रमिक भुक्तानी नगरेपछि उक्त सेवा पूर्ण रूपमा बन्द भयो।
सेवा बन्द भएसँगै उपकरणहरूको व्यवस्थापनमा समेत लापरबाही देखिएको छ। हाल एउटा अल्ट्रासाउन्ड मेसिन स्वास्थ्य चौकी पकाहाँ मैनपुरमा थन्क्याइएको छ भने अर्को एउटा अल्ट्रासाउन्ड र १५ लाख मूल्यको एक्स-रे मेसिन वडा नं. ५ का वडाध्यक्ष बलिराम चौरसियाको निजी घरमा राखिएको छ।
गाउँपालिकामा एक आर्थिक वर्षमा करिब ६०० जना गर्भवती महिलाहरू सेवा लिन आउने गर्छन्, जसमध्ये हालसम्म २७१ जनाको सामान्य (नर्मल) सुत्केरी गराइएको छ। स्वास्थ्य मापदण्डअनुसार एक जना गर्भवती महिलाले कम्तीमा ४ पटक अल्ट्रासाउन्ड गराउनुपर्छ। बाहिर निजी क्लिनिक वा अस्पतालमा एक पटक अल्ट्रासाउन्ड गराउँदा रु. १,००० देखि रु. ३,००० सम्म खर्च हुने गर्छ।
गर्भवती महिलाका अलावा पेटसम्बन्धी अन्य बिरामीहरूलाई पनि अल्ट्रासाउन्ड र एक्स-रे सेवा अत्यावश्यक हुन्छ। सरकारी उपकरण वडाध्यक्षको घर र स्वास्थ्य चौकीमा थन्किँदा गरिब तथा विपन्न सर्वसाधारण महँगो शुल्क तिरेर बाहिर सेवा लिन बाध्य छन्।
एक जना स्थानीय चिकित्सकका अनुसार वार्षिक मात्र रु. २ लाख बजेट विनियोजन गर्ने हो भने प्राविधिकको व्यवस्था गरी यी सबै मेसिनहरू नियमित सञ्चालनमा ल्याउन सकिन्छ। ६३ लाखका उपकरण धुलियाइरहँदा २ लाख बजेट नछुट्याइनु पालिकाको गम्भीर उदासीनता भएको स्थानीयको भनाइ छ।
गाउँपालिकाले सञ्चालन बजेट र प्राविधिकको व्यवस्था नगर्दा एकातिर सरकारी सम्पत्तिको दुरुपयोग भएको छ भने अर्कोतिर सर्वसाधारणले पाउनुपर्ने मौलिक स्वास्थ्य अधिकार खोसिएको छ। स्थानीयबासीले तत्काल बजेट व्यवस्था गरी उपकरणहरू स्वास्थ्य संस्थामै ल्याएर नियमित सञ्चालन गर्न जोडदार माग गरेका छन्।
यसैबीच, केही समयअघि मात्र सरुवा भई हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। उनले आफूले पहल गरेर आवश्यक बजेट विनियोजन गराउने र थन्किएका एक्स-रे तथा अल्ट्रासाउन्ड मेसिनहरूलाई छिट्टै सञ्चालनमा ल्याएर नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।