काठमाडौँ। औषधि व्यवस्था विभागले कलेजो, मिर्गौला प्रत्यारोपण गरेका र बाथरोगका बिरामीले प्रयोग गर्ने (रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने) ४७ प्रकारका औषधिको बिक्री-वितरण तथा आयातमा प्रतिबन्ध लगाएको छ।
यी औषधिहरू उत्पादन गर्दा अन्य साधारण औषधिसँग मिसावट भई बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम पर्न सक्ने भएकाले विभागले अलग्गै र सुरक्षित उत्पादन संरचना ('डेलिकेटेड फेसिलिटी') नभएका स्वदेशी तथा विदेशी कम्पनीका औषधिहरूको दर्ता र अनुमतिपत्र खारेज गरेको हो।
विभागले खारेजीमा परेका औषधिको बिक्री-वितरण नगर्न र यदि प्रयोग गर्दा कुनै प्रतिकूल असर परेमा त्यसको जिम्मेवारी औषधि बिक्री गर्ने वा प्रयोग गर्ने स्वयम्ले नै लिनुपर्ने चेतावनी दिएको छ।
अर्कोतर्फ तोकिएको मापदण्ड र छुट्टै सुरक्षित संरचना पूरा गरेर दर्ता भएका कम्पनीहरूलाई भने बजारमा औषधिको अभाव हुन नदिन निरन्तर र पर्याप्त आपूर्ति मिलाउन निर्देशन दिइएको छ।

