पर्सा l नेपाल कम्युनिष्ट पार्टी (एमाले) क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले आयोजना गर्न लागेको विजया दशमीको शुभकामना आदान-प्रदान कार्यक्रम स्थगित गरिएको छ।
कम्युनिष्ट नेता विजय पौडेलको मंगलबार भएको दुःखद् निधनका कारण शोक व्यक्त गर्दै पूर्वधारित कार्यक्रम स्थगित गरिएको एमाले क्षेत्रीय समन्वय कमिटीले जनाएको छ।
साविकको तय कार्यक्रम अनुसार यही असोज २८ गते बुधबार दिउँसो १२:१५ बजे पर्साको पकाहा मैनपुर गाउँपालिका–२ स्थित मानिकपुरमा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना हुने तय भएको थियो।
क्षेत्रीय समन्वय कमिटीले दिवङ्गत नेता पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।
साथै, कार्यक्रमका लागि आमन्त्रित सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुक महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै जुराइएको सूचनामार्फत जानकारी गराइएको छ।