वीरगन्ज । मालपोत कार्यालय पर्साबाट सेवाग्राहीहरुलाई हैरानी दिने व्यक्तिहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मालपोत कार्यालय पर्सामा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने भन्ने जनगुनासो प्राप्त हुन साथ आज दिउँसो १३:०० बजेको समयमा ८ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । सेवाग्राहीहरुलाई दुःख दिने कार्य गर्दै गरेको अवस्थामा जिल्ला पर्सा वी.म.न.पा.वडा नं.२७ उदयपुरघुर्मी बस्ने वर्ष ३० को दिपक कुमार पटेल , वडा नं.२९ अठराहा बस्ने वर्ष २१ को सन्तोष कुमार राउत ,वडा नं.१९ बस्ने वर्ष २२ को राज कुमार साह ,वडा नं.२५ बस्ने वर्ष २६ को सुशिल कुमार साह , वडा नं.२४ बस्ने वर्ष ४८ शुभनारायण महतो कोईरी , पकाहामैनपुर गा.पा.वडा नं.१ धोरे बस्ने वर्ष २३ को धर्मेन्द्र कुमार सहनी , पकाहामैनपुर गा.पा.वडा नं.२ बस्ने वर्ष २५ को संजय चौहान र बहुदरमाई न.पा.वडा नं.९ बस्ने वर्ष २८ को हरिओम गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिएका आठै जना विरुद्द सार्वजनिक हित , स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।