वीरगञ्ज । सामाजिक कार्य मार्फत राष्ट्रको गौरव एवम् जनताको हितमा पुर्याएको योगदानका लागि नेपाली नयाँ वर्षका दिन सुप्रबल जनसेवाश्री तृतिय श्रेणीबाट मुरलीधर रुङ्गटा विभूषित भइरहँदा उनले स्थापना गरेको रुङ्गटा ग्रुपद्वारा सञ्चालित एक उद्योगमा काम गर्दागर्दै घाइते मजदूर अस्पतालको शय्यामा जीवन मृत्युसँग लडिरहेका थिए ।
बाहिर समाज हितको लागि काम गर्दै राष्ट्रपतिबाट विभूषित भएका उनले सञ्चालन गरेको उद्योगमा काम गर्दागर्दै घाइते भएका मजदूर पैसाको अभावमा उपचारका लागि छट्पटाउनु गम्भीर विषय हो । रुङ्गटा समूहले देखाउने र गर्ने काममाथि पनि यसले एउटा ठूलो प्रश्न चिन्ह खडा भएको छ ।
लगभग एक महिना अगाडि चैते छठको पूर्वसन्ध्यामा रुङ्गटा ग्रुपद्वारा सञ्चालित परवानीपुर -४ स्थित ओमचाओ विरू फिड उद्योग प्रा.लि. मा कार्यरत पर्सागढी –७ फूलवारी टोल निवासी ज्ञानेन्द्र सहनी उद्योगको छतबाट लडेर दुर्घटनामा परे । भारी सामान बोकेर भर्याङ चढीरहँदा ७ तल्ला जतिको उँचाईबाट लडेर घाइते भएका उनको हाल वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार चलिरहेको छ । रिडको हड्डी, घाँटी पछाडि पट्टिको भाग, टाउको र खुट्टामा गम्भीर चोट लागेर सवा महिनादेखि अस्पतालको शय्यामा रहेका उनलाई अझै कति दिनसम्म अस्पतालमा बस्नुपर्ने भन्ने निश्चय छैन । सामान्य हिँडडुल गर्न पनि नसक्ने भएका उनको दुई वर्षीय छोरी छिन् भने पत्नी हिरामति देवी ७ महिने गर्भवती छिन् । सम्पतिको नाममा परिवारसँग रहेको पाँच कट्ठा खेत साहुकोमा राखेर छोराको उपचारका लागि उनका बुवा अमरदेव सहनीले थोरै ऋण उठाएका छन् ।
परिवार पाल्ने मुख्य व्यक्ति यस्तो अवस्थामा पुगेपछि अमरदेवको भोक प्यास हराएको छ । उनि सहयोगका लागि सबैसँग गुहार लगाइरहेका छन् । ‘मैले के गर्ने अब ? भएको सबै सम्पति साहुकोमा ऋण राखेर छोराको उपचारमा लगाइसके । अझै खर्च गर्ने मेरो शक्ति छैन,’ अमरदेवले भने ।
ज्ञानेन्द्र कार्यरत ओमचाओ विरू फिड उद्योगले उपचार गराउन छोडेपछि उनको परिवार विचल्लीमा परेको छ । दुर्घटनापश्चात अस्पतालमा ल्याएदेखि उद्योगले उपचार गराउन आनाकानी गरिरहेको परिवारको आरोप छ । ‘दुर्घटना भएको दिन उद्योगका प्रवन्धक र श्रमिक ठेकेदारले उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूहरुले व्यहोर्ने बताएका थिए । एक पटक ३० हजार रुपैयाँ दिएर गएपछि उनले फोन उठाउन छाडे,’ अमरदेवले भने, ‘पछि गाउँलेसँग मिलेर हामी उद्योगमै पुगेपछि थप दुई लाख रुपैयाँ दिएका छन् । अझै माग्न सम्पर्क गर्दा फेरी फोन उठाउन छाडेका छन् ।’
ज्ञानेन्द्रको श्रीमती र छोरी ।
नेशनल मेडिकल कलेजका ब्रेन एण्ड स्पाइन सर्जन डा. मोहम्मद सफरोज अन्सारीकाअनुसार हालसम्म ज्ञानेन्द्रको घाँटी र खुट्टाको गरेर दुई वटा शल्यक्रिया भएको छ । जसमा साढे ३ लाख जती खर्च भएको अमरदेवले बताए । औषधीलगायतमा थप २ लाख रुपैयाँ लागिसकेको उनि बताउँछन् । पैसा अभावका कारण आइतबार हुनुपर्ने खुट्टाको अर्को शल्यक्रिया सारिएको छ ।
समयमा शल्यक्रिया नहुँदा पतीलाई केहि हुने हो की हिरामतीलाई डर छ । छोरी र आउने सन्तानको भविष्यको चिन्ताले उनलाई पिरोली रहेको छ । ‘आफ्नो अङ्ग बेचेर भएपनि उनको उपचारमा लगाउछु,’ छोरीलाई काँखीमा च्यापेर आँशु पुछ्दै उनले भनिन्, ‘जुन उद्योगमा वर्षौंसम्म काम गर्नुभयो त्यसले आज उनलाई मृत्युको मुखमा पुर्याएर अलपत्र छोडेको छ । उहाँको उपचार अब आफ्नो अङ्ग बेचेर भएपनि गर्छु ।’
ज्ञानेन्द्रको बुवा, आमा र भाई ।
काम गर्दागर्दै दुर्घटना भएको कारण ज्ञानेन्द्रको सम्पूर्ण उपचार खर्च उद्योगले व्यहोर्नु पर्ने समाजसेवी चन्दन मिश्र बताउँछन् । ‘उद्योगमा काम गर्ने क्रममा कुनै किसिमको दुर्घटना हुँदा त्यसको जिम्मा उद्योगले लिनुपर्छ,’ मिश्रले भने, ‘तर यहाँ उद्योग पन्छीएको देखियो । परिवारलाई थोरै रकम दिएर आफ्नो जिम्मेवारीबाट भाग्न खोज्दै छ । उपचार चलेसम्मको सबै खर्च उद्योगले नै व्यहोर्ने हो ।’
ज्ञानेन्द्रका बुवा अमरेदेवले पनि उद्योगले छोराको उपचारमा लाग्ने खर्च मात्र दिए पुग्ने बताए । ‘मेरो हातमा ल्याएर पैसा दिनुपरेन । उद्योगले आफै अस्पतालमा आएर लाग्ने रकम तिरिदिए हुन्छ । मेरो छोरा सकुशल होस् भन्ने मात्र मेरो चाहना हो,’ उनले भने ।
मिश्रकाअनुसार उद्योगले मजदूरहरुको विमा पनि गराएको छैन । उनले थपे, ‘श्रम ऐनबमोजिम उद्योगका मजदूर र श्रमिकको स्वास्थ्य र दुर्घटना विमा गराउनु पर्छ । यहाँ उद्योगले त्यस्तो गराएको देखिँदैन । त्यसमाथि उद्योग मजदूरको सुरक्षाको दृष्टिकोणले पनि मापदण्डअनुसार नभएको हामीलाई गुनासो आएको छ ।’ नेशनल मेडिकल कलेजका सञ्चालक बसरुदीन अनुसारसँग पैसाको कारण ज्ञानेन्द्रको उपचार नरोक्न आफूले पहल पनि गरेको मिश्रले जानकारी दिए । उनले चन्दा उठाएर भएपनि ज्ञानेन्द्रको उपचार गराउने बताए ।
ज्ञानेन्द्रको विषयमा बुझ्न उद्योगका सञ्चालक सुरेश रुङ्गटा (मुरलीधर रुङ्गटाका छोरा) सँग सम्पर्क गर्दा उनले फोन उठाएनन् । उनको प्रतिक्रिया आए यहाँ समेटिनेछ ।
रुङ्गटा वेलफेयर सोसाइटी नामक संस्था मार्फत वर्षेनी लाखौँ खर्च गर्ने रुङ्गटा समूहले आफ्नै श्रमिकलाई अस्पतालको शय्यामा अपत्र छाडेको छ । आज अन्तराष्ट्रिय श्रमिक दिवसका दिन देशका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले श्रमिकको अधिकार, सुरक्षा र भविष्यको बारेमा बोलिरहँदा एकजना गरिव परिवारका श्रमिक जीवनमृत्युको लडाई लडिरहेका छन् । उनको आवाज सुनुदिने, हकअधिकार र सुरक्षाको लागि बोलिदिने आज कोहीपनि छैन । यात्रा डेली सम्भार