पर्सा । रमेश रिजालले फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लाजस्पद पराजय भोगेपछि आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उनले पार्टीको बैठकमा यस्तो घोषणा गर्दै आगामी दिनमा पार्टी र उम्मेदवारलाई सहयोग गर्ने बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्व उद्योग मन्त्री रिजालले लामो समयदेखि पर्सा क्षेत्रबाट चुनाव लड्दै आएका थिए। तर यसपटकको निर्वाचनमा भने उनी मतदाताबाट कडा अस्वीकृति सामना गर्न बाध्य भएका छन्।
रिजाल हालसम्म आठ पटक चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये चार पटक विजयी भएका भए पनि चार पटक पराजित भएको तथ्यांक रहेको छ। स्थानीय बासिन्दाहरूका अनुसार पटक–पटक निर्वाचन जिते पनि उनले आफ्नो क्षेत्रमा अपेक्षित विकास र काम गर्न नसकेको आरोप लाग्दै आएको छ।
यसपटक पर्सा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा उनले ठूलो अन्तरले पराजय भोगे। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर शाक्यले उनलाई करिब दोब्बर मतान्तरले हराएका थिए।
राजनीतिक विश्लेषकहरूका अनुसार लामो समयसम्म क्षेत्रको प्रतिनिधित्व गरे पनि मतदाताको अपेक्षा पूरा गर्न नसक्दा रिजालप्रति असन्तुष्टि बढ्दै गएको देखिएको छ। त्यही असन्तुष्टिको परिणामस्वरूप यसपटक मतदाताले नयाँ विकल्प रोजेको विश्लेषण गरिएको छ।
हारपछि पार्टीको बैठकमा सम्बोधन गर्दै आगामी निर्वाचन नलड्ने घोषणा गरेका रिजालको उक्त निर्णयलाई कतिपयले राजनीतिक दबाबबाट आएको कदम भनेका छन् भने स्थानीय स्तरमा भने “अब घोषणाभन्दा काम गर्ने नेतृत्व आवश्यक छ” भन्ने प्रतिक्रिया समेत सुनिन थालेको छ।