वीरगञ्ज । हिजो आएको असिनासहितको हावाहुरीका कारण जिल्ला तथा मधेश प्रदेशका विभिन्न स्थानमा घर तथा सम्पत्तिमा क्षति पुगेकोप्रति पूर्व मन्त्री प्रमोद जैसवालले दुःख व्यक्त गरेका छन्।
उनले आफू समाज कल्याण मन्त्री रहेका बेला सुरु गरिएको ‘आवास बीमा’ कार्यक्रममार्फत प्रभावित परिवारले आर्थिक सहयोग प्राप्त गर्न सक्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले विपद्का कारण घरमा क्षति पुगेका परिवारलाई उक्त कार्यक्रमअन्तर्गत राहत लिन आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेका हुन्।
उनका अनुसार कुनै पनि विपद्का कारण घरमा क्षति पुगेमा प्रभावित परिवारले न्यूनतम एक लाख रुपैयाँदेखि अधिकतम पाँच लाख २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी यस्ता घटना वा दुर्घटनामा मधेश प्रदेशका कुनै नागरिकको मृत्यु भएमा पीडित परिवारलाई १० लाख रुपैयाँसम्म आर्थिक सहायता प्रदान गरिने उनले जानकारी दिएका छन्।
मधेश प्रदेशका आठवटै जिल्लामा रहेका पीडित तथा प्रभावित नागरिकलाई उपलब्ध सूचनाअनुसार आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गर्न पनि उनले आग्रह गरेका छन्। सूचनामा पहुँच नभएका पीडितलाई जानकारी गराउने र निवेदन तयारी गरी सम्बन्धित मन्त्रालयमा दर्ता गराउन सबैलाई सहयोग गर्न समेत उनले अपिल गरेका छन्।
साथै, प्रक्रिया सम्बन्धी कुनै जटिलता वा समस्या आएमा सम्बन्धित मन्त्रालय वा प्रदेश सांसदसँग सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन्। आवश्यक परेमा आफ्नो सचिवालयमार्फत पनि सहजीकरण गर्न सकिने उनको भनाइ छ।