वीरगञ्ज । सामाजिक संस्था जिल्ला समन्वय समितिको ३१औँ वार्षिक साधारणसभा शनिबार वीरगञ्ज महानगरपालिका–१४ राधेमाईस्थित संस्थाको आफ्नै सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनारले गर्नुभएको थियो। उद्घाटन मन्तव्य दिँदै सोनारले संस्थाले शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताउनुभयो। विशेषगरी किशोर–किशोरीको शिक्षा, समाजमा पछाडि परेका वर्गको उत्थान तथा विभिन्न सामाजिक कार्यक्रममार्फत सकारात्मक परिवर्तन ल्याउन संस्थाले महत्वपूर्ण भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले यस्ता कामहरू स्थानीय सरकारले गर्नुपर्ने भए पनि सामाजिक संस्थाले अघि बढाएर गरिरहेकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा स्थानीय तहले पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो।
संस्थाले आर्थिक रूपमा पछाडि परेका समुदायको पहिचान गरी अपाङ्गता, एचआईभी, बालअधिकार, किशोरी शिक्षा लगायतका कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न सामुदायिक विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गर्दै आएकोमा प्रमुख अतिथि सोनारले खुसी व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष इब्राहिन देवानले संस्थाले विगत तीन दशकदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा बालअधिकार जस्ता विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो।
अध्यक्ष देवानले सामाजिक परिवर्तनका लागि सरकारी निकाय, स्थानीय तह र सामाजिक संस्थाहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा संस्थाले अझ प्रभावकारी रूपमा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै संस्थाको गतिविधिमा सहयोग पुर्याउने सबै सरोकारवाला निकाय र समुदायप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
संस्थाले हाल मधेस प्रदेशका आठवटै जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, महिला सशक्तीकरण, सुशासन, गरिबी निवारण, बालविवाह तथा दाइजो प्रथा अन्त्य, अपाङ्गता तथा एचआईभीसम्बन्धी सचेतना लगायतका क्षेत्रमा काम गर्दै आएको जानकारी दिइएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपसंयोजक पुरन, जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, पटेरवा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, नेपाल सोसाइटी मधेस प्रदेशका अध्यक्ष फुल महम्मद मियाँ, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति ब्रिजकिशोर पटेल, संस्थाका सल्लाहकार राजेश पण्डित, रामनरेश यादव, पूर्व महासचिव रामप्रवेश शाह, पूर्व नगरप्रमुख लोकनारायण यादव , नेपाल पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष युवराज खड्का , पत्रकार राजकुमारी गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्देश कुमार चौहानले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव अनन्त श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष विनोद प्रसाद यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
साधारणसभाका अवसरमा संस्थाले उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थी तथा किशोरी शिक्षा कार्यक्रमका सुपरभाइजर सर्लाहीकी प्रियंका यादव र मञ्जु कुमारी यादवलाई सम्मान गरेको थियो।
कार्यक्रमको सञ्चालन हरिप्रसाद यादवले गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापनमा संस्थाका दुलार्चन प्रसाद शाहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।