पर्सा । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ स्थित श्री जनता माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कालिकामाई युवा समाजको आयोजनामा तथा इलाका प्रहरी कार्यालय पोखरियाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा करिब ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनका दुष्परिणाम, यसबाट समाजमा पर्ने असर तथा यसबाट जोगिने उपायबारे जानकारी गराउँदै प्रशिक्षण दिएका थिए।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले लागुऔषध दुर्व्यसनले युवाको भविष्य मात्र नभई परिवार र समाजलाई समेत गम्भीर असर पार्ने बताए। उनले विद्यार्थीहरूलाई सचेत र जिम्मेवार बन्दै यस्ता कुलतबाट टाढा रहन आग्रह गर्दै समाजमा लागुऔषध नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
“लागुऔषधबाट टाढा रहनु नै सुरक्षित भविष्यको आधार हो। विद्यार्थीहरू सचेत भएमा समाजलाई पनि लागुऔषधमुक्त बनाउन ठूलो योगदान पुग्छ,” उनले भने।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागुऔषधका जोखिम, कानुनी पक्ष तथा यसबाट बच्ने उपायबारे जानकारी प्राप्त गरेको आयोजकले जनाएको छ। कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै लागुऔषधविरुद्ध सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।