वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरू पटेर्वासुगौली गाउँपालिकाका स्थानीय गाउँपालिका–४ भथौरा निवासी १९ वर्षीय अर्जुन महतो र पटेर्वासुगौली गाउँपालिका–१ गदियानी निवासी ३० वर्षीय असलम अन्सारी हुन् । उनीहरूबाट कुल ७६ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको पर्सा प्रहरीको दाबी छ ।
बिहीबार राती जिराभवानी गाउँपालिका–३ जितपुर नजिकैको सडक खण्डमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले नौकाटोलबाट जितपुरतर्फ पैदल आउँदै गरेका अर्जुनमाथि शङ्का लागेपछि प्रहरीले उनलाई रोकेर रितपूर्वक शरीर चेकजाँच गरेको थियो ।
चेकजाँच गर्ने क्रममा अर्जुनले दुवै हातमा बोकेको कालो प्लास्टिकको झोलामा ४६ किलोग्राम लागूऔषध गाँजा जस्तो पदार्थ फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास भट्टले इमेल मार्फत प्रेस नोट अनुसार, प्रहरीले अर्जुनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै सोही दिन पर्सा प्रहरीले पटेर्वासुगौली गाउँपालिका–१ को पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पुरानो भाठा नजिकैको सडक खण्डमा नेपाली सेनाको श्री जबुज गण सुरक्षा पोस्ट भाठा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको संयुक्त टोलीले चेकजाँच गर्दा भाठा मेलाको ड्युटीबाट फर्कने क्रममा भाठा मन्दिरबाट सिकारी बाँसतर्फ पैदल आउँदै गरेका असलम अन्सारीलाई शङ्कास्पद देखेर रोकेर प्रहरीले चेकजाँच गरेको थियो । असलमले टाउकोमा बोकेको बोराभित्र लुकाई छिपाइ राखिएको ३० किलोग्राम लागूऔषध गाँजा जस्तो पदार्थ फेला परेपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।
उनको पनि लागूऔषध सम्बन्धी कसुर मा अनुसन्धान भइरहेको प्रहरीले डिएसपी भट्टले प्रेस नोट मार्फत जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध नियन्त्रणमा कडाइ गरिरहेको बताउँदै आएको छ । विशेष सूचना र संयुक्त गस्तीमार्फत दुई घटनामा ठूलो परिमाणको गाँजा बरामद भएको हो । पक्राउ परेका दुवै अभियुक्तमाथि लागूऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न भएको आशङ्कामा अनुसन्धान जारी छ ।
पर्सा जिल्लामा लागूऔषधको ओसारपसार र प्रयोग बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । प्रहरीको सक्रियताले लागूऔषध नियन्त्रणमा केही सफलता मिले पनि दीर्घकालीन समाधानका लागि थप प्रयास आवश्यक रहेको जानकारहरूको भनाइ छ ।
घटनाले पर्सा क्षेत्रमा लागूऔषधको समस्या कति गम्भीर छ भन्ने कुरा उजागर भएको छ । प्रहरीले अनुसन्धानबाट अभियुक्तहरूको सञ्जाल र गाँजाको स्रोतबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरेको छ ।