धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका - ५ स्थित बनिनियामा एक भयावह घटना सार्वजनिक भएको छ । घरको पूजा कोठामा एक जना महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ ।
मृतकको पहिचान २० वर्षीय स्थानीय अञ्जली यादवको रूपमा भएको छ । शव सडिसकेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहले दिएको जानकारीअनुसार, स्थानीयले अञ्जलीका श्रीमान् हरिराम यादव बेपत्ता भएको रिपोर्ट गरेपछि घटना बाहिर आएको हो ।
प्रहरीले अनुसन्धान थाल्दा मङ्गलवार दिउँसो १ बजे पूजा कोठामा गाडिएको शव फेला परेको थियो ।
हरिरामले आफ्नी पत्नी अञ्जलीको हत्या गरेर शव लुकाएका हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । हाल हरिराम फरार छन् र उनीसँगै उनीहरूको १० महिनाकी छोरी पनि बेपत्ता छिन् ।
स्थानीय बासिन्दाका अनुसार, शनिवार राति अञ्जली र हरिरामबिच ठूलो झगडा भएको थियो । आइतबार बिहान हरिरामले गाउँलेहरूलाई अञ्जली हराएको बताएका थिए । तर, मङ्गलवारदेखि उनी आफैँ पनि सम्पर्कविहीन भएपछि स्थानीयमा शङ्का जाग्यो र उनीहरूले प्रहरीलाई खबर गरे ।
प्रहरीले घरमा खानतलासी गर्दा पूजा कोठाको भुईँ खन्दा अञ्जलीको शव बाहिर आएको थियो ।
डिएसपी सिंहका अनुसार, शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ । साथै, फरार हरिराम र उनकी छोरीको खोजीका लागि प्रहरीले व्यापक अनुसन्धान सुरु गरेको छ । घटनाले गाउँमा त्रास र आक्रोश फैलिएको छ ।