वीरगञ्ज । छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरका मृतक अनिल यादवका परिवारजनले दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्। आइतवार नेपाल पत्रकार महासंघ, पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मृतक अनिल यादवका काका हरिन्द्र यादवले न्यायका लागि अपिल गरेका हुन्।
माघ १३ गते छिपहरमाई गाउँपालिका वडा नम्बर २ स्थित नौगावा उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अनिल यादवको हत्या गरिएको थियो । सोही विद्यालयमा अध्ययनरत विजय यादवकी छोरी उज्वाला भन्ने मृता कुमारीसँग प्रेम सम्बन्ध रहेको भन्दै केटी पक्षका आफन्तहरूले अनिललाई कुटपिट गरी हत्या गरेको आरोप परिवारजनले लगाएका छन्।
परिवारजनका अनुसार माघ १३ गते खाना खाएर कुखुराको औषधि किन्न वीरगञ्ज आएका अनिल यादवलाई केटी पक्षका राजेन्द्र यादव, विनोद यादव, विजय यादव तथा हिरा साह सोनारको आदेशमा उज्वालालाई प्रयोग गरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा स्थित मोहन साह तेलीको घरमा बोलाइएको थियो। साँझ ५ बजे त्यहाँ पुगेका अनिललाई कोठामा थुनेर कुटपिट गर्नुका साथै धारिलो हतियार र पञ्चले प्रहार गरी हत्या गरिएको तथा घर नजिकैको पानी भरिएको खाल्डोमा फालेको जाहेरीमा उल्लेख छ।
छरछिमेकीहरूले अनिललाई खाल्डोबाट निकालेर एडभान्स मेडिकेयर अस्पताल लगे पनि अस्पतालले उपचार गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनलाई एल.एस. न्यूरो अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रहरीले घटना पश्चात अनिल यादव, विजय यादव, उज्वाला भन्ने मृता कुमारी तथा दिब्यानी कुमारीलाई पक्राउ गरेको थियो। यद्यपि, पक्राउ परेकामध्ये नाबालक भएकाले बाल सुधार गृहमा पठाउनुका साथै अभिभावकको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुबास भट्टले जानकारी दिए। उनले कानुनी प्रक्रियाअनुसार नै नाबालकलाई बाल सुधार गृहमा पठाइएको र अभिभावकको जिम्मा लगाइएको स्पष्ट पारे । यदि अदालतको निर्णय चित्त नबुझेमा पुनरावेदन गर्न सकिने उनको भनाइ छ ।
तर, मृतक अनिल यादवका परिवारजनले घटनामा संलग्न केही व्यक्तिलाई पक्राऊ गरिएपनि प्रहरी अनुसन्धान राम्रो नगरी प्रहरीले पैसाको बलमा प्रहरीले प्रतिबेदन अदालतमा पठाएको आरोप लगाए साथै अन्य व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। उनीहरूले कानुनी प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।