वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सङ्गठन दर्ता गराएको छ ।
ठाकुरराम क्याम्पसअन्तर्गतको अनेरास्ववियु इकाई कमिटीले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि सङ्गठन दर्ता गराएको हो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) गठन गरेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको तालिका अनुसार आज वीरगञ्जको ठाकुरराम सहित देशभर रहेका त्रिविको आङ्गिक क्याम्पसहरूमा सङ्घ/सङ्गठन दर्ताको कार्यक्रम रहेको छ ।
सोही तालिका अनुसार, अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज रेयाज अन्सारी र वीरगञ्ज महानगरका अध्यक्ष आशिफ अहमदको नेतृत्वमा गएको टोलीले सङ्गठन दर्ता गरेको छ ।
अहिलेसम्म ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि सुधीर पटेलको स्वतन्त्र विद्यार्थी समूह, जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) निकट समाजवादी विद्यार्थी युनियन नेपालले दल दर्ता गराएका छन् ।
चैत ५ गतेको लागि तोकिएको निर्वाचनअन्तर्गत आज सङ्घ/सङ्गठन दर्ता कार्यक्रम सम्पन्न भए पछि । फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ ।