वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि स्वतन्त्र तर्फ सुधीर पटेल समूहले सङ्गठन दर्ता गराएको छ ।
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पूर्व केन्द्रीय सदस्य समेत रहेका पटेल समूहले ठाकुरराम क्याम्पस स्ववियु निर्वाचनका लागि गठित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सङ्गठन दर्ता गराएको हो ।
समूहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार कमलेश कुमार यादवले समूहको नेतृत्व गरिरहेका सुधीर पटेलसँगै पुगेर सङ्गठन दर्ता गराएका छन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) गठन गरेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको तालिका अनुसार आज वीरगञ्जको ठाकुरराम सहित देशभर रहेका त्रिविको आङ्गिक क्याम्पसहरूमा सङ्घ/सङ्गठन दर्ताको कार्यक्रम रहेको छ ।
सोही तालिका अनुसार, समूहले सङ्गठन दर्ता गराएको पटेलले जानकारी दिए ।
अहिलेसम्म ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) निकट समाजवादी विद्यार्थी युनियन नेपाल र नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सङ्गठन दर्ता गराएको छ ।
चैत ५ गतेको लागि तोकिएको निर्वाचनअन्तर्गत आज सङ्घ/सङ्गठन दर्ता कार्यक्रम सम्पन्न भए पछि । फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ ।