वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी सङ्घले पनि वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सङ्गठन दर्ता गराएको छ ।
युनियनका जिल्ला अध्यक्ष हरिन्द्र यादवको नेतृत्वमा र्यालीसहित पुगेको टोलीले ठाकुरराम क्याम्पस स्ववियु निर्वाचनका लागि गठित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सङ्गठन दर्ता गराएको हो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) गठन गरेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको तालिका अनुसार आज वीरगञ्जको ठाकुररामसहित देशभर रहेका त्रिविको आङ्गिक क्याम्पसहरूमा सङ्घ/सङ्गठन दर्ताको कार्यक्रम रहेको छ ।
सोही तालिका अनुसार, समाजवादी विद्यार्थी युनियनले पनि सङ्गठन दर्ता गराएको जिल्ला अध्यक्ष यादवले यात्रा डेलीलाई जानकारी दिए ।
सङ्गठन दर्ता गर्ने क्रममा ठाकुरराम बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति एवम् जसपाका नेता मुकेश द्विवेदी, जसपा नेता तबरेज अहमद, जसपा वीरगञ्ज महानगर इकाई कमिटीका अध्यक्ष ईश्वर चन्द्र यादव, समाजवादी विद्यार्थी युनियनका महासचिव निखिल बरनवाललगायतका नेताहरूको सहभागिता रहेको थियो ।
चैत ५ गतेको लागि तोकिएको निर्वाचनअन्तर्गत आज सङ्घ/सङ्गठन दर्ता कार्यक्रम सम्पन्न भए पछि । फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ ।