वीरगञ्ज । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा ३४ वटा सङ्घ/सङ्गठन/ दर्ता भएको छ ।
आउँदो चैत ५ गतेको लागि तोकिएको स्ववियु निर्वाचनका लागि आज (सोमबार) सङ्घ/सङ्गठन दर्ताको कार्यक्रमअन्तर्गत ठाकुरराम बहुमुखी क्याम्पसमा विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी सङ्घ सङ्गठनसँगै स्वतन्त्र समूह गरी ३४ वटा सङ्गठन दर्ता भएको हो ।
ठाकुरराम क्याम्पस स्ववियु निर्वाचनका लागि गठित निर्वाचन समितिका अनुसार नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी), जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) निकट समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत पार्टी निकट विद्यार्थी जनमत सङ्घसहित राजनीतिक दल आबद्ध सङ्घ सङ्गठनसँगै सुधीर पटेल समूहलगायतका स्वतन्त्र समूहहरूले पनि सङ्गठन दर्ता गराएका छन् ।
त्यस्तै जय नेपाल तरुण युवा विद्यार्थी समूह, अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाली काँग्रेस विद्यार्थी समूह, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, स्वतन्त्र युवा समूह, स्वतन्त्र नेपाल विद्यार्थी समूह, ठाकुरराम विद्यार्थी समूह, भोट फोर चेन्ज स्वतन्त्र विद्यार्थी युनियन, सेवा विद्यार्थी समूह नेपाल, राष्ट्रिय विद्यार्थी सङ्घ, शुभम् समूह, राष्ट्रिय बजरङ्ग दल युवा समूह, पर्सा विद्यार्थी युनियन, नयाँ शक्ति विद्यार्थी युनियन, विशाल कुमार समूह, इन्तेलीजेन्ट विद्यार्थी युनियन, नेपाल विद्यार्थी समूह, प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल, राघव पटेल समूह, जय विद्यार्थी समूह, दिलीपराज महतो समूह, मुस्कान महिला समाज, नेपाल विद्यार्थी कल्यान सङ्घ, विकास समूह र चेन्ज द सिस्टम समूहले सङ्गठन दर्ता गराएको निर्वाचन अधिकृत दिलीप कुमार सिंहले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयले गठन गरेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको तालिका अनुसार आज वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस र वीरगञ्ज नर्सिङ क्याम्पससहित देशभर रहेका त्रिविको आङ्गिक क्याम्पसहरूमा सङ्घ/सङ्गठन दर्ता सम्पन्न भएको छ ।
सङ्गठन दर्ता सम्पन्न भएसँगै अब फागुन २१ गते मतदाताको सूची प्रकाशित गरिने छ । यस्तै, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ ।
फागुन २६ गते उम्मेदवारहरूको लागी मनोनयन पत्र वितरणको मिति तोकिएको छ भने फागुन २७ गते मनोनयन दर्ताको मिति तोकिएको छ । सोही दिन उम्मेदवारको नामावली पनि प्रकाशित गरिने छ ।
त्यस्तै फागुन २८ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । सोही दिन दाबी विरोध पछिको उम्मेदवारहरूको नामावली प्रकाशित गरिने छ । फागुन २९ गते उम्मेदवारहरू द्वारा नाम फिर्ता लिने मिति तोकिएको छ । सोही दिन उम्मेदवारहरूको अन्तिम नामावासी प्रकाशित गरिने छ । मतदानको मिति भने चैत्र ५ गतेको लागि तोकिएको छ ।
ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ पश्चात् स्ववियु निर्वाचन हुन सकेको छैन ।