

वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक शैक्षिक संस्था ठाकुरराम बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी राजनीतिमा उत्साह र सरगर्मी बढेसंगै क्याम्पसमा स्वतन्त्र तर्फ सुधीर पटेल समूहले दल दर्ता गराएको छ ।
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पूर्व केन्द्रीय सदस्य समेत रहेका पटेल समूहले ठाकुरराम क्याम्पस स्ववियु निर्वाचनका लागि गठित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सङ्गठन दर्ता गराएको हो । समूहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार कमलेश कुमार यादवले समूहको नेतृत्व गरिरहेका स्वतन्त्र नेता पटेलसँगै पुगेर सङ्गठन दर्ता गराएका छन् ।
स्वतन्त्र नेता पटेलको समर्थनको राजनीतिक अर्थ नेपाली काँग्रेसका पूर्व नेता सुधीर पटेल हाल स्वतन्त्र राजनीतिमा सक्रिय छन् । उनले पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । पटेल पनि ठाकुरराम बहुमुखी क्याम्पसबाटै उदाएका नेता हुन् । उनी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को केन्द्रीय सदस्य समेत भइसकेका छन् । क्याम्पसमा उनले गरेको कामको प्रभाव अहिलेसम्म कायम छ । विद्यार्थीहरूबिच उनी एक होनहार र असल नेताको रूपमा आज पनि लोकप्रिय छन् । उनको स्वच्छ छवि र प्रभावशाली व्यक्तित्वले यादवको स्वतन्त्र उम्मेदवारीलाई थप बलियो बनाएको छ ।
विद्यार्थीहरूबिच पटेलको समर्थनलाई कमलेश यादवका लागि महत्त्वपूर्ण कदम मानिएको छ । यद्यपि, पटेलले यादवलाई गरेको समर्थनले नेविसङ्घलाई सबैभन्दा ठूलो घाटा हुने विश्लेषण गरिएको छ । पटेलले आफ्नो प्रभाव प्रयोग गरी स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेपछि नेविसङ्घभित्र हल्लाखल्ला मच्चिएको छ ।