

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि स्वतन्त्र तर्फ सुधीर पटेल समूहले सङ्गठन दर्ता गराएको छ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पूर्व केन्द्रीय सदस्य समेत रहेका पटेल समूहले ठाकुरराम क्याम्पस स्ववियु निर्वाचनका लागि गठित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सङ्गठन दर्ता गराएको हो ।
पटेल समूहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार कमलेश कुमार यादवले समूहको नेतृत्व गरिरहेका सुधीर पटेलसँगै पुगेर सङ्गठन दर्ता गराएका छन् ।
कमलेश कुमार यादव ठाकुरराम बहुमुखी क्याम्पसमा सक्रिय विद्यार्थी नेताको रूपमा परिचित छन् । विद्यार्थीहरूका समस्यालाई लिएर विभिन्न समयमा आवाज उठाउँदै आएका यादवले क्याम्पस प्रशासनसँग संवाद र आन्दोलनमार्फत विद्यार्थी हितमा काम गर्दै आएका छन् ।
उनको सक्रियता र नेतृत्व क्षमताले क्याम्पसमा उनको समर्थन आधार बलियो बनेको विद्यार्थीहरू बताउँछन् । स्वतन्त्र उम्मेदवारको रूपमा उनले कुनै पनि विद्यार्थी सङ्गठनको आड नलिई आफ्नो व्यक्तिगत पहिचान र कार्यशैलीबाट मतदाताहरूलाई प्रभावित पार्ने प्रयास गरिरहेका छन् ।
यादवले आफूले कुनै दलको झन्डा नबोकेर विद्यार्थीको हित र क्याम्पसको सुधीरका लागि स्वतन्त्र रूपमा लड्न आएको बताएका छन् । “हाम्रो क्याम्पसमा शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थीका आधारभूत अधिकारका लागि काम गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले भने, “विद्यार्थीहरूको मत मेरो शक्ति हो, म कसैको दबाबमा होइन, उनीहरूको विश्वासमा काम गर्नेछु ।”
यादवले आफ्नो स्वतन्त्र उम्मेदवारीको महत्त्व दर्साउँदै भने, “दलीय राजनीतिले कहिलेकाहीँ विद्यार्थीका मुद्दालाई ओझेलमा पार्छ । म स्वतन्त्र भएर सबै विद्यार्थीको प्रतिनिधित्व गर्न चाहन्छु, चाहे उनीहरू कुनै पनि सङ्गठनसँग आबद्ध होउन् वा नहोउन् ।”