बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, वडाध्यक्ष गुप्ता शुक्रबार राति आफ्ना समर्थकसहित स्थानीय परशुराम गिरीको घरमा पुगेका थिए। सोही क्रममा उनले घरमा ढुंगामुढा गर्नुका साथै गिरीको परिवारका सदस्यलाई कुटपिट गरेको आरोप लागेको छ।
वडाध्यक्ष गुप्ता नेतृत्वको समूहले आक्रमण गरेपछि परशुराम गिरीले आत्मरक्षाका लागि बन्दुक निकालेर एक राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि गुप्ता र उनका समर्थकहरू भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनापछि बारा प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको हो। बारा प्रहरीका प्रवक्ता विजयराज पण्डितका अनुसार, उनलाई उपद्रव मुद्दा अन्तर्गत कानुनी कारबाही अगाडि बढाइएको छ।
प्रहरीले यो घटनाको विस्तृत छानबिन गरिरहेको बताएको छ भने, स्थानीयहरूले ऐन कानुनअनुसार दोषीउपर आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन्।