वीरगन्ज । वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघ र अखिल (क्रान्तिकारी)ले आफ्नो पराजय निश्चित देखेपछि अनावश्यक विवाद खडा गरेको अनेरास्ववियुले आरोप लगाएको छ ।
नर्सिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनको मतदान गन्न बाँकी रहेको मतगणना २४ घण्टा बितिसक्दा पनि अझै सुरु हुन सकेको छैन । उक्त क्याम्पसमा मंगलबार बेलुका ५ बजे मतदान सकेपछि राति ८ बजेदेखि मतगणना सुरु भएकाे थियाे । तर गणनामा क्याम्पस प्रशासनले धाँधली गरेको गम्भीर आरोप लगाउँदै नेविसंघले मतगणना स्थगितको मांग गर्दै टायर बालेर प्रदर्शन समेत गरेको थियो ।
नेविसंघको चर्को नाराबाजी र विरोध पछि निर्वाचन समितिले अर्को सूचना नआएसम्मका लागि मतगणना स्थगित गरेको थियो ।
बुधबार दिउँसो राति करिव १ स्थगित गरिएको मतगणना अझै सुरु हुन नसकेको बिद्यार्थीहरुले जनाएका छन् । अनेरास्ववियुले भने मतगणनामा कुनै अनियमितता नभएको जिकिर गरेको छ । अनेरास्ववियुका नेता रियाज अन्सारीले नेविसंघ र अखिल (क्रान्तिकारी)ले हार निश्चित देखेपछि अनावश्यक विवाद खडा गरेको आरोप लगाएका छन् ।
मतगणनामा उनीहरू निकै पछाडि परेका छन् । हार स्वीकार गर्न नसकेर विरोधको नाटक गरेका हुन् । अनेरास्ववियुले यसअघि पनि स्ववियुको नेतृत्व गरेको छ र यो पटक पनि गर्छ," उनले दाबी गरे । पुनः मतगणनाको मागप्रति अनेरास्ववियुले कडा आपत्ति जनाएको छ ।
मंगलबार राति नेविसंघको विरोध प्रदर्शनले उग्र रूप लिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र क्याम्पस पुगेका थिए । भने उहाँहरूले शान्तिपूर्ण माहोल बनाउन आग्रह गर्दै मतगणना सुरु गर्न भनेपनि निर्वाचन समितिले अहिले सम्म मतगणना सुरु गरेको छैन ।
निर्वाचन अधिकृत अन्जु कुमारी महतोसँग पटक-पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाइनन् । क्याम्पस पुगेका सञ्चारकर्मीहरूलाई समेत प्रवेश गर्न नदिइएको तथा दुर्व्यवहार समेत गरेको गुनासो छ ।
वीरगन्ज नर्सिङ क्याम्पसमा मंगलबार भएको निर्वाचनमा क्याम्पसका २७३ मतदातामध्ये २७२ जनाले मत खसालेका थिए । राति मतगणना स्थगित हुनुअघिको पछिल्लो परिणाम अनुसार स्ववियु अध्यक्ष पदमा अनेरास्ववियुकी आर्जु राय ८६ मतसहित अग्रस्थानमा थिइन् । नेविसंघकी दियान्सु श्रेष्ठ ७८ मतसहित दोस्रो र अखिल (क्रान्तिकारी) की कविता आचार्य ५२ मतसहित तेस्रो स्थानमा थिइन् । बाँकी मतहरूको गणना हुन बाँकी रहँदा नै विवाद चर्किएको हो ।