सिरहा । सिरहामा महायज्ञका लागि दलितको घर भत्काइएको विषयले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा महायज्ञ लगाउन सिरहाको औरही गाउँपालिका-५ का दलित दीपक मलिक डोमको घर भत्काइएको विषयलाई सांसदहरूले जोडदार रूपमा उठाएका हुन् ।
१७ चैतदेखि आयोजना गर्न लागिएको श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक डोमको घर भत्काएर हटाइएको छ । महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर बजरंगी बाबाले भनेपछि पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर मरिकको घर भत्काउन लगाएका थिए । मरिकको घर मात्र भत्काइएन अछुतले छोएको माटो भनेर दीपक मरिकको घरले चर्चेको स्थानको दुई फिट माटो खनेरसमेत फालिएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद सम्झना थपलियाले दलितको घर भत्काउँदा सरकार मुकदर्शक बनेको बताइन् । ‘गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु तपाईं दलित विरोधी हो ? यसरी संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो हुन्छ ?,’ उनले भनिन्, ‘गृहमन्त्रीज्यूले यसबारेमा संसदमा जवाफ दिनुपर्छ ।’
अछुत भन्दै डोम समुदायका दीपकसहित ७ जनाको परिवारलाई महायज्ञ हुने स्थानबाट करिब ५ सय मिटर पर एकान्त स्थानमा बाँसको अस्थायी घर बनाएर सारिदिएका छन् ।