वीरगञ्ज । वीरगञ्जमा गहवामाई माताको दोस्रो डोली यात्रा यही चैत २३ गते निकालिने भएको छ ।
वीरगञ्जको प्रमुख शक्तिपिठ गहवामाई मन्दिरबाट गत वर्षदेखि गहवामाई माताको डोली यात्रा निकाल्न थालिएको हो ।
यस वर्ष पनि चैत २३ गते शनिवारका दिन गहवमाईको दोस्रो डोली यात्रा निकाल्न लागिएको माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिए ।
चैत २३ गते अर्थात् चैते दसैँको अष्टमीका दिन निकालिने डोली यात्राका लागि तयारी सुरु भइसकेको जानकारी पनि उनले दिए ।
उनका अनुसार, चैत २३ गते शनिवारका दिन अपराह्न ४ बजे गहवामाई मन्दिरको प्राङ्गणबाट निशानसहित गहवामाईको डोली यात्रा सुरु हुनेछ । त्यसअघि दिउँसो २ बजे गहवामाईको डोली र निशानको विशेष पूजा हुनेछ । त्यसपछि २ नम्बर रोड,बिर्ता मन्दिर हुँदै त्यहाँबाट अलखीयामठ, महावीरस्थान, माईस्थानको चोक परिक्रमा गर्दै डोली यात्रा पुन गहवामाई मन्दिर प्राङ्गणमा पुगेर समापन हुनेछ ।
डोली यात्रापछि शनिवार नै साँझ गहवामाई मन्दिर अगाडि महाआरतीको कार्यक्रम रहेको अध्यक्ष साहले बताए ।
डोली यात्रामा सहभागी हुने भक्तजनहरूलाई गहवामाईको तस्बिर अङ्कित निशान यसपालि पनि वितरण गरिने उनले जानकारी दिए ।
यात्राको सहयोग स्वरूप प्रति निशानको शुल्क ३ सय ५ रुपैयाँ तोकिएको साहले बताए । उनका अनुसार, गत वर्षको पहिलो डोली यात्रामा ६ सय ५० वटा निशान वितरण गरिएको थियो ।