बारा। जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटिअर्वा नाकामा छड्के चेकजाँच गरेका छन्।
चेकजाँचका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सार्वजनिक रूपमा भइरहेको तस्करीलाई नजरअन्दाज गरेको देखेपछि प्रमुख जिल्ला अधिकारी अधिकारीले तत्काल दुई सुरक्षाकर्मीलाई निलम्बन गर्ने आदेश दिएका छन्।
प्रमुख जिल्ला अधिकारी अधिकारीले सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न अचानक चेकजाँच गरेका थिए। चेकजाँचका क्रममा नेपाल प्रहरीका एकजना र सशस्त्र प्रहरीका एकजना कर्मचारी तस्करी रोक्न सक्रिय नभएको देखिएपछि दुवैलाई निलम्बन गर्न निर्देशन दिइएको हो।
जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने बताएको छ।
प्रमुख जिल्ला अधिकारीको यो कदमपछि सीमावर्ती क्षेत्रमा सुरक्षा प्रणाली थप कडा बनाइने अनुमान गरिएको छ। स्थानीय प्रशासनले अवैध गतिविधि रोक्न कडा निगरानी राख्ने र अन्य दोषीहरूलाई समेत कारबाही गरिने बताएको छ।