

वीरगन्ज । पश्चिमाञ्चल होटल पर्यटन व्यवसायी सङ्घ, पोखराका अध्यक्ष विकल तुलाचनले कोरोना भाईरसको कारण लागेको निषेधज्ञा , लकडाउनले पोखरामा भएको होटल व्यवसाय नै चौपट भएको बताएका छन् ।नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको टोलीको सम्मानमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तुलाचनले पोखरामा मात्र दैनिक १० हजार पर्यटक आउने गरेकामा अहिले सो सङ्ख्याको १० प्रतिशत पर्यटक पनि नआएको बताए । उनले बाह्य पर्यटकमा भारतीय पर्यटकहरू पोखरा आउन औंधी रुचाउने गरेकामा वीरगंज मुख्य नाका हालसम्म बन्द रहेको कारण भारतीय पर्यटकहरूको आवागमन पनि नभएको बताए उनले लकडाउनको कारण पोखरामा होटल व्यवसायीहरूले ३०/३५ प्रतिशत कामदार मात्र राखेर जेनतेन गुजारा गर्दै आएको बताए। अध्यक्ष तुलाचनले आन्तरिक पर्यटन प्रवद्र्धनमा पत्रकारहरूले सहयोग गर्नुपर्ने आग्रह गरे । नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जाराले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सञ्चारकर्मीहरूले भूमिका खेल्ने आश्वासन दिए । नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले पर्सा जिल्लाबाट पोखरामा आन्तरिक पर्यटक पठाउन भूमिका खेल्ने बताए । उनले पोखरा पर्यटन व्यवसायको लागि पर्सेली पत्रकारले यसअघि पनि सघाएको र आगामी दिनमा पनि सघाउने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा पश्चिमाञ्चल होटल पर्यटन व्यवसायी सङ्घका पूर्वअध्यक्ष हरिशर्मा गैरे, केन्द्रीय सदस्य भरतराज पराजुली, कोक्षाध्यक्ष पार्वती पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।पर्साबाट गएका पत्रकारहरूको टोलीमा उपाध्यक्ष सुष्मा शर्मा, सचिव भूक्षण यादव, कोक्षाध्यक्ष सञ्जीव मिश्र, महेशचन्द्र गौतम, विजय कुशवाहा , श्याम कुशवाहा, धर्मेन्द्र चौरसिया , जियालाल साह , लगायतको सहभागिता रहेको थियो ।