वीरगञ्ज । पत्रकार सुरेश रजकको निर्मम हत्याले सञ्चार क्षेत्रमा आक्रोश र शोकको लहर पैदा गरेको छ ।
घटनाको विरोधमा पर्साका पत्रकारहरूले आज पनि सडकमा उत्रिएर दोषीमाथि कठोर कारबाहीको माग गरेका छन् । हातमा कालो पट्टी बाँधेर शान्तिपूर्ण प्रदर्शनमा सहभागी उनीहरूले न्यायको पक्षमा एकजुट भएर आवाज बुलन्द पारेका छन्।
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारसँग निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूले अपराधीलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउनुपर्ने अडान राखेका छन् ।
साथै, पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको संरक्षणका लागि ठोस कदम चाल्न सम्बन्धित निकायलाई दबाब दिएका छन् । प्रदर्शनकारीहरूले घटनाले पत्रकारिता पेसामा त्रासको वातावरण सिर्जना गरेको भन्दै तत्काल न्यायको सुनिश्चितता गर्न जोड दिए ।
शुक्रवार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।