वीरगञ्ज । नेपाली काँग्रेसले नेपाल र नेपाली जनताको भावना र मर्ममाथि कुठाराघात हुने गरी राजा र राजतन्त्रको पक्षमा वकालत गर्दै दिग्भ्रमित गर्ने खालका समाचार प्रसारण गर्ने भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको छ ।
मङ्गलवार नेपाली काँग्रेसको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर कुमार यादवसहितको टोलीले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाउँदै राजा र राजतन्त्रको पक्षमा वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई काँग्रेसले ज्ञापन पत्र बुझाउँदै नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी भारतीय मिडियाहरूले राजा र राजतन्त्रको पक्षमा वकालत गरेर दिग्भ्रमित पारिरहेकाले नेपालमा ती भारतीय मिडियाहरूको प्रसारणमा रोक लगाउन माग गरेको काँग्रेस नेता एवं प्रदेशसभा सदस्य श्याम पटेलले बताए ।
साथै काँग्रेसले गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्नका निम्ति मृत भई सकेका राजतन्त्रलाई फर्काउन पूर्व राजाका समर्थक केही अराजक व्यक्तिहरूले आफ्नो स्वार्थ सिद्ध गर्न आन्दोलनका नाममा गरेको विध्वंसको भर्त्सना पनि गरेको छ । काठमाडौँमा राजवादीहरूको नाममा गरिएको हिंसात्मक घटनाको छानबिन गरी दोषीहरूलाई कारबाही गर्न पनि काँग्रेसले माग गरेको पटेलले बताए ।