वीरगन्ज । पर्साको वीरगन्जमा गत शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा हिंसात्मक गतिविधिमा संलग्न पाँचजना माथि राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ ।
शोभायात्राको क्रममा हिंसात्मक गतिविधिमा संलग्न पाँचजना माथि राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई,शकिल मियाँ,रवि सर्राफ र बलजित सिंह माथि राज्यविरुद्धको कसूर र आपराधिक उपद्रवको मुद्दा दर्ता भएको हो। मंगलबार चारजना र बुधबार एकजनालाई पक्राउ गरिएको हो।
शोभायात्रा वीरगन्ज–२ छपकैयामा पुगेपछि दुई फरक धार्मिक समुदायकाबीच झडप हुनुका साथै त्यहाँको पसल,सवारी,साधनलगायतमा तोडफोड र आगजनी भएको थियो । उक्त घटनाको अनुसन्धानमा जुटेको प्रहरीले बुधबारसम्म पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।