वीरगन्ज । नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य मोहमद निजामले एकआपसमा धार्मिक आस्थाको सम्मान गरी राष्ट्रिय एकता जोगाउन अपिल गरेका छन् ।
निजामले वीरगन्जलगायत देशका विभिन्न ठाउँमा फैलिएको अशान्तिले सहिष्णुताको राष्ट्रिय धर्म कमजोर बन्न पुगेको भन्दै यस्तो अपिल गरेका हुन्। निजामले भने, ‘हाम्रो समाजको मुख्य विशेषता विविधता बीचको एकता र आपसी सहिष्णुता हो। एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो।’
नेता निजामले सबै धर्म र आस्था नेपाल भूमिमा सधैँ संरक्षित हुँदै आएको स्पष्ट पारेका छन्। ‘ शनिबार भएको धार्मिक विवादमा वीरगन्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको छ । एकआपसमा धार्मिक आस्थाको सम्मान गरौँ। हाम्रो राष्ट्रिय एकता जोगाऔंँ’, उनले भने।