भारतको कश्मिरमा मंगलबार भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको शव घर ल्याउने तयारी भएको छ । न्यौपाने आमा, बहिनी र ज्वाईंसँगै कश्मिर घुम्न गएको बेला मंगलबार कश्मिरको पहलगाममा आतंकवादी आक्रमणमा परेका थिए । आतंकवादीले सुदीपको हतया गरे भने उनीसँगै गएका आमा, बहिनी र ज्वाई सकुशल छन् ।
बुटवल उपहानगरपालिका वडा नम्बर १४ का न्यौपानेका काका पर्ने वडा अध्यक्ष दधिराम न्यौपानेले शव घर ल्याउने तयारी भइरहेको बताए । उनले भने, ‘भरर्खर मेरो कश्मिर सम्पर्क भएको थियो । उहाँहरू विमानस्थलमा हुनुहुन्छ । शव ल्याएर आउने तयारी भइरहेको छ ।’
वडा अध्यक्ष न्यौपानका अनुसार मृतक २७ वर्षीय सुदीप धरानमा पब्लिक हेल्थ अध्ययन गरिरहेका थिए । उनी विदामा घुम्नका लागि कश्मिर पुगेका थिए ।
बन्दुकधारीहरूको समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको घटनास्थलबाट ज्वाइँ काफ्लेलाई उदृत गर्दै वडा अध्यक्ष न्यौपानेले बताए ।
'परिवारलाई घुमाउन जाँदै छु भनेर भनेको थियो । कुराकानी हुँदा ज्वाइँले बन्दुकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको भनेर प्रतिक्रिया दिनुभएको छ । के के भएको थप कुरा उहाँ आएपछि थाहा हुन्छ ।'