काठमाण्डौ । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । राक्सिराङ–९ खैराङबाट मनहरीका लागि छुटेको बा १५ च १३३३ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका ११ जनामध्ये आठ जना घाइते भएका हुन् ।
घाइते सबैलाई मनहरी अस्पतालमा प्राथमिक उपचार गरी चितवनको भरतपुर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान, ३८ वर्षीय रुपबहादुर राउत, ४८ वर्षीय दीपक खड्का, ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र चालक २८ वर्षीय सुजन तामाङ घाइते हुनुभएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।