काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखा परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको असरस्वरूप विशेषगरी पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भूभागहरूमा आंशिक बदलीदेखि मुख्यतः सफा मौसम कायम छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइसकेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा भने हल्का वर्षासँगै हिमपात हुने अनुमान गरिएको छ । त्यस्तै, मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा हावाहुरीको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि मौसम केही अस्थिर रहने देखिन्छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायतका तराई क्षेत्रहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पुनः हल्का वर्षा र हिमपात हुन सक्नेछ ।
मौसममा देखिएको यो उतारचढावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रतिकूल असर पार्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सबै नागरिकलाई अनुरोध गरेको छ ।