यस वर्ष चाँडै मनसुन भित्रिने भएको छ। मनसुनविद्हरूले औसत समयभन्दा यस वर्ष चाँडै मनसुन भित्रिने अनुमान गरेका छन्।
सामान्यतया नेपालमा मनसुन जुन १३ (जेठ ३०) मा भित्रिन्छ र अक्टुबर २ (असोज १६) मा बाहिरिन्छ। तर, यस वर्ष भने औसत समयभन्दा चाँडै भित्रिने मौसमविद्हरूको अनुमान छ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जन यही मितिमा भित्रिन्छ भन्ने नभए पनि चाँडै भित्रिन्छ भन्न सकिने बताउँछिन्। 'ठयाम्मै यही दिनबाट मनुसन भित्रिन्छ भनेर अहिले नै भन्न सकिन्न तर, मनसुन भित्रिने औसन दिनभन्दा यस वर्ष केही दिन अघि नै मनसुन नेपालमा भित्रिने सम्भावना रहेको छ,' उनले भनिन्।
महर्जनका अनुसार मनसुन एक हप्ताअघि नै भारतको केरला भित्रिसकेको छ। केरलामा जुन महिनाको अन्तिम दिन मनसुन भित्रिने सरदर समय हो तर, केरलामा एक हप्ताअघि मे २४ (जेठ १०) मा मनसुन भित्रिसकेको छ। उनका अनुसार नेपालमा केरला र भारतको उत्तरपूर्वी क्षेत्र हुँदै मनसुन भित्रिन्छ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसमविद्ले यस वर्षको वर्षायाममा दक्षिण एसियाली क्षेत्रमा औसतभन्दा बढी पानी र गर्मी पनि औसतभन्दा बढी हुने अनुमान गरेका छन्।
मौसमविद्हरूले ३० वर्षलाई आधार मानेर औसत वर्षा निकाल्ने गरेका छन्। पोहोर पनि नेपालमा औसतभन्दा बढी नै वर्षा भएको थियो। सामान्यतया वर्षाको करिब ८० प्रतिशत वर्षायाममै हुने गरेको छ । नेपालमा सामान्यतया मनसुन जुन १३ बाट सुरु हुन्छ। गत वर्ष भने नेपालमा जुन १४ बाट मनसुन भित्रिएको थियो।
मौसमविद्हरूका अनुसार नेपालमा धेरैजसो मनसुन बंगालको खाडीबाट भारत हुँदै नेपालमा भित्रिने गरेको छ। गत वर्ष वर्षायाममा भएको वर्षाले रेकर्ड नै तोडेको थियो। विभागका अनुसार पोहोर अर्थात् सन् २०२४ जुलाई ८ मा दोधारा चाँदनीमा २४ घण्टाको अवधिमा यति धेरै वर्षा भयो कि यस्तो वर्षा इतिहासमा कहिल्यै भएको थिएन। त्यहाँ २४ घण्टामा ६ सय २४ मिलिमिटर वर्षा भएको थियो।
यसअघि सबैभन्दा बढी वर्षा २०१७ अगस्ट १३ मा हेटौंडामा भएको थियो। त्यस दिन हेटौंडामा २४ घण्टामा पाँच सय १६ दशमलव २ मिलिमिटर वर्षा भएको थियो। दोधारा चाँदनीमा भएको वर्षाको विषयमा अध्ययन गर्न मौसमविद्को एउटा टोली त्यहाँ पुगेको थियो । टोलीले दोधारा चाँदनीमा भएको वर्षाबारे विभागलाई प्रतिवेदन पनि बुझायो। दोधारा चाँदनीमा भएको वर्षालाई मौसमविद्ले ‘आरीघोप्टे’ भनेका छन्।
एक घण्टामा सय मिलिमिटर या त्योभन्दा बढी वर्षा भए मौसमविद्ले त्यसलाई आरीघोप्टे भन्ने गरेका छन्। गत वर्ष दोधारा चाँदनीलाई मात्र नभई अरू दुईवटा स्टेसनले पनि वर्षाको रेकर्ड तोडेका छन्। कञ्चपुरका हनुमान नगर र सुन्दरपुर स्टेसनले पनि उक्त वर्ष सबैभन्दा बढी वर्षा भएको मापन गरेका थिए।