जनकपुरधाम । सिरहाको औरही नगरपालिका–३ का वडाध्यक्ष जीवछ यादवले निजी जग्गामा बनेको सडक अतिक्रमणमुक्त गराउने नाममा एक स्थानीय नागरिकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरेका छन् ।
सडक अतिक्रमण हटाउने क्रममा वडाध्यक्ष यादवले स्थानीय वीरेन्द्र साहको हात रुखमा बाँधेर अमानवीय व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।
घटना सोमबार (आज) बिहानको हो । भिडियोमा वडाध्यक्ष यादवसमेत देखिन्छन्, जहाँ वीरेन्द्र साहको हात गम्छाले बाँधिएको अवस्थामा देखिन्छ । वडाध्यक्षले साहलाई हप्काइरहेका छन् ।
स्थानीय रामएकवाल यादवका अनुसार पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण गरिएको थियो । सो क्रममा एक ठाउँमा वीरेन्द्र साहको जग्गा एकतर्फी रूपमा लिइएको थियो ।
सोही सडक अतिक्रमण भएको भन्दै आज वडाध्यक्षसहितको टोली खाली गराउन आएको थियो । आफ्नो मात्रै जग्गा कब्जा गरेर सडक बनाउन खोजिएको भन्दै साहले विरोध गरेका थिए । त्यसपछि वडाध्यक्ष यादवले उनको हात रुखमा बाँधी सडक खाली गराएको रामएकवाल यादवले बताए ।
‘कृषि सडक निर्माण भइसकेको छ । सबैतिर आधाआधा जग्गा लिनुपर्ने हो । तर दुवैतर्फबाट वीरेन्द्र साहकै जग्गा लिएर सडक बनाइएको छ,’ रामएकवालले भने, ‘खाली गराउन जाँदा रोक्न खोजेपछि वीरेन्द्रको मोबाइल खोसियो र हात रुखमा बाँधी सडक खाली गरियो । यो त वडाध्यक्षको दादागिरी हो ।’
यता, वडाध्यक्ष यादवले भने साहले सडक अतिक्रमण गरेको र खाली गराउन जाँदा लाठी लिएर कुटपिट गर्न खोजेपछि स्थानीय युवाको सहयोगमा उनको हात बाँधिएको बताएका छन् ।
‘गत वर्ष नै बाटो बनाइएको थियो । आज खाली गराउन जाँदा वीरेन्द्र लाठी लिएर निस्किए । कुटपिट गर्लान् भनेर युवाहरूले नै उनको हात बाँधेका हुन्,’ उनले भने ।
स्थानीय युवा नेता सन्तोष यादवले वडाध्यक्षले निजी जग्गामा जबर्जस्ती सडक निर्माण गर्न खोज्दै नागरिकलाई रुखमा बाँध्नु अमानवीय हर्कत भएको भन्दै कारबाहीको माग गरेका छन् ।
‘औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवछ यादवले जनतालाई रुखमा बाँधेर जबर्जस्ती निजी जग्गामा सडक निर्माण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘विकास मानिसका लागि गरिन्छ, मानिसलाई नै बन्धक बनाएर गरिएको यो कस्तो विकास हो ? यस्तो अमानवीय हर्कत शक्तिको दुरुपयोग हो । हामी लोकतन्त्रमा छौँ कि जङ्गबहादुरको शासनमा ? यस्तो अमानवीय हर्कत गर्ने वडाध्यक्षलाई तुरुन्त कारबाही गरियोस् ।’