सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले गोली प्रहार गरी हत्या गरिएको र ज्यान मार्ने उद्योगमा संलग्न दुई जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीले २०८२ साल माघ महिनामा भएका दुई छुट्टाछुट्टै गम्भीर प्रकृतिका घटनाको सूक्ष्म अनुसन्धानपछि घटनामा संलग्न मुख्य योजनाकारहरूलाई कानुनी दायरामा ल्याएको हो।
प्रहरीका अनुसार २०८२ माघ १६ गते सिरहा नगरपालिका वडा नम्बर ७ स्थित बाँसघारीमा ४२ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको घटनामा संलग्न मृतककै छिमेकी ५२ वर्षीय उपेन्द्र यादव पक्राउ परेका छन्। पूर्वशिक्षक समेत रहेका यादवले पारिवारिक रिसइबी र मनमुटावका कारण बदला लिन भारतीय अपराधीहरूको सहयोग लिई ३ लाख रुपैयाँमा सुपारी डिल गरेको खुलेको छ। उनले एडभान्स स्वरूप १ लाख रुपैयाँ दिइसकेको र २ लाख दिन बाँकी रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
उक्त घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली गठन गरी बीटीएस, ८० जनाको सीडीआर, सोधपुछ र ६ जना शंकितको पोलिग्राफ टेस्ट समेत गरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्राविधिक टोली र भारतीय प्रहरीको समेत सहयोगमा अनुसन्धान गर्दा भारतीय अपराधीको संलग्नता पुष्टि भएको हो।
पक्राउ परेका उपेन्द्र यादवले आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् र उनीमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य भारतीय अपराधीहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, २०८२ माघ ४ गते औरही गाउँपालिका वडा नम्बर ५ स्थित जितिया मन्दिरका ५५ वर्षीय पुजारी श्याम सुन्दर शर्मामाथि गोली प्रहार गरी घाइते बनाएको घटनामा पनि प्रहरीले सफलता प्राप्त गरेको छ। मन्दिरभित्र सुतिरहेको अवस्थामा टाउकोको पछाडि गोली हानी पुजारीलाई गम्भीर घाइते बनाइएको थियो।
यस घटनाको अनुसन्धानका क्रममा औरही गाउँपालिका वडा नम्बर ५ कै ५५ वर्षीय हरि ठाकुर पक्राउ परेका छन्। उनले पारिवारिक रिसइबीका कारण भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिएर पुजारीको ज्यान मार्ने उद्देश्यले गोली प्रहार गराएको खुलेको छ।
यी दुवै घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन्।